काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।
आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी दुई वर्षीया बालिकामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो।
कोरोनाका कारण ज्यान गुमाउनेमा बूढीगंगा नगरपालिका-१ की दुई वर्षीया बालिका रहेकी छन्। बालिकाको आइतबार बिहान साढे २ बजेतिर मृत्यु भएको थियो।
क्वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको र उपचारकै क्रममा उनको ज्यान गएको बाजुराको जिल्ला अस्पतालले जनाएको छ। बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जनाएका छन्।
जेठ १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएकी बालिकासँगै उनका आमाबुबालाई पनि राखिएको थियो। मृत्यु हुने बालिकाको आमालाई समेत कोरोना देखिएको बताइएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार बालिकाका पितामा भने कोरोना नेगेटिभ देखिएको छ बताइएअनुसार, बालिका आफ्ना आमा-बुबासँगै एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्।