काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष खारेज नभएको प्रति दुख व्यक्त गरेका छन्।
आइतबार राष्ट्रिय सभामा बजेट माथिको छलफलको क्रममा नेकपाका सचिवालय सदस्य एवम् राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले सांसद विकास कोष खारेज नभएको प्रति दुख व्यक्त गरेका हुन्।
कोरोना भाइरस महामारीका बेला सांसद विकास कोष खारेज गरेर उक्त रकम कोरोना नियन्त्रण तथा अन्य कार्यमा लगाउनुपर्नेमा कोषलाई निरन्तरता दिइएको प्रति आपत्ति जनाए।
प्रधानमन्त्री र अर्थमन्त्री समेत सांसद विकास कोषको विपक्षमा रहेको उल्लेख गर्दै उनले सांसद विकास कोषको लागि बजेट किन छुट्याइयो भन्दै प्रश्न गरे।
“प्रधानमन्त्री र अर्थमन्त्री दुवै जना सांसद विकास कोषको विपक्षमा हुनुहुन्छ तर बजेटमा खारेज गर्ने साहस किन गर्न सक्नुभएन ?”,नारायणकाजी श्रेष्ठले भने।
यस्तै उनले शिक्षा मन्त्रीलाई समेत थाहा नभएको विषय बजेटमा परेको बताए। सामुदायिक विद्यालयको गुणस्तर सुधार्न निजी विद्यालयलाई दिने बजेटको व्यवस्था माथि प्रश्न गरे।
“निजी विद्यालयलाई सामुदायिक विद्यालयहरुको गुणस्तर सुर्धान दिने भनेको के हो यो? शिक्षा मन्त्रीलाई पनि सोधेँ उहाँलाई पनि थाहा रहेनछ।”,श्रेष्ठले प्रश्न गरे।
उनले बजेटमा जनस्वास्थ्यलाई पूरै बेवास्ता गरिएको भन्दै दुख पनि व्यक्त गरे। बजेट सरकारले उपचारमा मात्रै केन्द्रित गरेको उनको आरोप छ।