एजेन्सी – करिब पाँच महिना देखि अस्पतालमा कोरोना भाइरससँग लडिरहेका चीनका एक डाक्टरको निधन भएको छ। कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका बेला संक्रमण सरेका चीनको वुहानका डाक्टरको निधन भएको हो।
निधन हुनेमा वुहान सेन्ट्रल हस्पिटलका डाक्टर हु वेइफेङ रहेका छन्। डाक्टर हु वेइफेङको मंगलबार निधन भएको चिनियाँ संचार माध्यम तथ्य अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। हु ले गत जनवरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका उनी पाँच महिना देखि अस्पतालमा थिए।
अस्पतालमा प्राण त्याग्नु अगाडी उनको कलेजोले काम गर्न छाडेको थियो। जसकारण उनको शरीरको रङ्गनै परिवर्तन भएको थियो। पहिला गोरा रहेका उनी काला भएका थिए।
र्मोनल असंतुलनको कारण उनी काला भएको बताइन्छ। वुहान तोङ्गजी अस्पतालको सिनो-फ्रेन्च न्यू सिटी शाखाका एक वरिष्ठ डाक्टरका अनुसार मष्तिस्क पक्षघात पश्चात डाक्टर हु वेइफेङ करिब २ महिना देखि कोमामा थिए। कोमाकै अवस्थामा उनको निधन भएको उनको भनाई छ।
कोरोना भाइरस बारे सबै भन्दा पहिला चेतवानी दिने लि वेनलियाङसँगै काम गर्नेमा डाक्टर हु वेइफेङ पनि थिए। लि वेनलियाङले कोरोना संक्रमणकै शुरुवातमा यो महामारीको रुपमा फैलिन सक्ने चेतवानी दिएका थिए। लि वेनलियाङको फेब्रुअरीमै निधन भएको थियो।
वुहान अस्पतालमा पाँच जना डाक्टरले अहिले सम्म कोरोनाका कारण ज्यान गुमाउसकेका छन्।