मेस्सी र रोनाल्डोभन्दा सान्चो उत्कृष्ट

एजेन्सी – आधुनिक फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोभन्दा इंग्लिस युवा फरवार्ड जाडोन सान्चो उत्कृष्ट देखिएका छन् ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डका २० वर्षे इंग्लिस फरवार्ड सान्चो यो उमेरमा उत्कृष्ट प्रदर्शन गर्नेमा रोनाल्डो र मेस्सीभन्दा उत्कृष्ट देखिएको हो । सान्चोले बुन्डेस लिगामा पाडेरवर्नविरुद्धको खेलमा ह्याट्रिक पुरा गरेपछि उनको चर्चा युरोपभर नै चुलिएको छ । उनको खेल्ने शैली र गोल र असिस्ट गर्ने शैलीको तारिफ भइरहेको छ । यो उमेरमा मेस्सी र रोनाल्डोले पनि यस्तो किसिमले खेल्न नसकेको भन्दै चर्चा भइरहेको छ ।

सान्चोले डर्टमुन्डबाट तीन सिजनमा ९४ खेल खेल्दा ३४ गोल गर्दा ४३ असिस्ट गरेका छन् । यो उमेरमा मेस्सीले ७० खेलमा २६ गोल र ८ असिस्ट गरेका थिए । यस्तै रोनाल्डोले १०७ खेलमा १६ गोल र १६ असिस्ट दिएका थिए । रोनाल्डोले स्पोर्टिङ एसपी र म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । सान्चो तीन सिजनमा ७७ गोलमा संलग्न रहँदा रोनाल्डो र मेस्सीको जोड्दा पनि पुग्ने देखिदैन । रोनाल्डो र मेस्सीको जोड्दा ६६ मात्रै हुन आउछ ।

यो सिजन सान्चो डर्टमुन्डको ३३ गोलमा संलग्न छन् । जसमा १७ गोल र १६ असिस्ट छन् । युरोपको शीर्ष ५ लिगमा २१ वर्षमुनिका कुनैपनि खेलाडीले गरेको यो अहिलेसम्मकै धेरै गोल हो । यस्तै विश्वविजेता फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पे यो सिजन पीएसजीको २३ गोलमा संलग्न छन् । उनले १७ गोल र ५ असिस्ट दिएका छन् ।

सान्चोको यो सिजनको ३३ गोलमा संलग्नता यसअघि पनि एमबाप्पे भन्दा राम्रो छ । एमबाप्पे २०१७ मा २३ र २०१८ मा २१ गोलमा संलग्न थिए । गत सिजन मात्रै एमबाप्पेले सान्चोलाई उछिनेका थिए । एमबाप्पे गत सिजन ४० गोल (३३ गोल र ७ असिस्ट) मा संलग्न थिए ।

सान्चो २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट ८ मिलियन पाउन्डमा डर्टमुन्ड पुगेका थिए । डर्टमुन्ड पुगेलगत्तै लगातार उच्च प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो छाप छोड्न सफल भएका छन् । तीन वर्षअघि ८ मिलियन पाउन्डका सान्चोको मुल्य अहिले ११७ मिलियन युरो पुगिसकेको छ ।

सान्चो अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल म्याड्रिडले चासो देखाइरहेको छ ।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७१५:१०

बार्सिलोनाको सपना पूरा हुन नसक्ने !