बार्सिलोनाको सपना पूरा हुन नसक्ने !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले उरुग्वेका फरवार्ड लुइस सुआरेजको विकल्पमा अघि सारिएको अर्जेन्टिनी तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेजलाई गुमाउने सम्भावना बढेको छ ।

मार्टिनेज बार्सिलोनामा आउन तयार रहेपनि बार्सिलोनाले नै मार्टिनेज अनुबन्धमा ढिलाई गरिरहँदा अर्काे स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले चासो देखाइरहेका छन् । अर्जेन्टिनाका मार्टिनेजको मेस्सीसँग तालमेल राम्रो हुने र उनी बार्सिलोनाको पहिलो रोजाईमा पर्न सक्ने क्षमता राख्ने खेलाडी हुन् ।

इन्टर मिलानसँग २२ वर्षे मार्टिनेजको सम्झौता २०२३ का समरसम्म रहेको छ । इन्टरले पनि आफ्ना फरवार्डलाई थप सम्झौताको लागि मनाउने प्रयास गरिरहेको छ ।

मार्टिनेजको विषयमा अनुबन्ध रकम र त्यसपछिको बोनसलगायत विषयमा अझै सहमति जुट्न सकेको छैन । इन्टर मिलानले १०० मिलियन युरो माग गरेको छ । बार्सिलोनाले ७० मिलियन युरो र एक या दुई खेलाडी दिने योजना अघि सारेको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण बार्सिलोनाले जुन अन्त्यसम्ममा १ सय ५० मिलियन युरो गुमाउने छ । कोरोनापछि नै बार्सिलोनाले पहिलो महिना खेलाडीहरुको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरिसक्दा फेरि थप कटौती गर्ने बताइरहेको छ । अर्जेन्टिनी क्लब लिनियर्स हुँदै रेसिङबाट मार्टिनेज २०१८ मा इन्टर मिलान पुगेका थिए ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७०९:४७

हालान्डको गोलमा डर्टमुन्डको संघर्षपुर्ण जित !