“न्याय त पाइयो, तर समय, मेहनत, परिश्रमको मुल्याङकन कसले गर्ने ?” – पूर्वकप्तान सागर थापा

काठमाडौँ – सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो ।

सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहेका छन् ।

विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान थापासहितका खेलाडीलाई २०७२ असोज २७ गते प्रहरीको अपराध महाशाखाले पक्राउ गरी जेठ २४ गते विशेष अदालतमा राज्यविरुद्धको कसूरमा मुद्दा चलाएको थियो ।

उनीहरुले उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप लगाइएको थियो । म्याच फिक्सिङमा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो । तर यसअघि नै विशेष अदालतले सफाइ दिने फैसला गरेको थियो ।

सर्वोच्चबाट सफाई पाएपछि पूर्व कप्तान सागरले सत्यको जित भएको बताएका छन्। न्याय पाएपनि समय, मेहनत, परिश्रमको मुल्याङकन कसले गर्दिने भनेर उनले फेसबुक मार्फत प्रश्न गरेका छन्।

“सत्यको जित भयो सम्मानित सर्वोच्च अदालतबाट पनि । न्याय पाइएकोमा आज समय, मेहनत, परिश्रमको मुल्याङकन कसले गर्दिने, सरकारले, एन्फाले ?”,उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित : मङ्गलबार, असार ०२, २०७७१२:५४

कोरियाले नेपाललाई दियो ५० हजार पीसीआर किट