भक्तपुरमा एक प्रहरीसहित तीन जनामा कोरोना, १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा !

काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत एक प्रहरी जवानमा कोरोना पुष्टि भएपछि सन्चार कक्ष सिल गरिएको छ । संक्रमित प्रहरीको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

बुधबार चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई बुधबारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार त्यहाँ काम गर्ने सबैलाई तल–माथि गर्न बन्द गरिएको छ । त्यहीँ खाना सप्लाई गर्ने, ट्वाइलेट पनि त्यहीँकै प्रयोग गर्ने गरी राखिएको छ । क्वारेन्टिनमा रहेका प्रहरीहरुको र संक्रमित प्रहरीको परिवारका सदस्यको बिहीबार स्वाब संकलन गरिने छ ।

सन्चार कक्षमा काम गर्ने प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : बिहिबार, असार ०४, २०७७०२:३५

आइओएमको डिनमा डा सिंह नियुक्त