काठमाडौँ – विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस महामारी खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरस खतरनाक चरणमा प्रवेश गर्न लागेको चेतावनी दिएका हुन्।
उनका अनुसार कोरोना भाइरसको फैलावट दिन-दिनै बढ्दै गइरहेको छ। कोरोना अहिले नयाँ र खतरनाक चरणमा प्रवेश गर्ने क्रममा रहेको उनको भनाई छ।
विश्वका अधिकांश देशहरुमा पुगिसकेको कोरोना भाइरसलाई पुनः गम्भीर रुपमा नलिइए कोरोना भाइरसको फैलावट अर्को चरणमा प्रवेश गर्न सक्ने बताइएको छ।
शनिबार बिहान सम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८७ लाख ५७ हजार ७ सय ५० पुगेको छ। बितेको २४ घण्टामा मात्रै विश्वभर १ लाख ८१ हजार ५ जना नयाँ संक्रमित फेला परेका छन्। यो संख्या एकै दिन फेला परेको कोरोना संक्रमितको अहिले सम्मकै ठूलो संख्या हो। यस भन्दा अगाडी बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमण फेला थियो।
बितेको २४ घण्टामा विश्वभर ५ हजार ६६ जनाको मृत्यु भएको छ। जससँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ६१ हजार ८ सय २० पुगेको छ।
दैनिक संक्रमितको संख्या सबै भन्दा उच्च अमेरिका, ब्राजिल र भारतमा छ। बितेको २४ घण्टामा अमेरिकामा ३३ हजार ५ सय ३९ संक्रमित, ब्राजिलमा ५५ हजार २ सय ९ संक्रमित र भारतमा १४ हजार ७ सय २१ नयाँ संक्रमित फेला परेका छन्।