के तपाई धेरै अन्डा खानुहुन्छ ? सावधान धेरै अन्डा खाँदा देखिन सक्छ यस्तो स्वास्थ्य समस्या !

वासिंगटन । अन्डा खानु स्वास्थ्यका लागि ठीक कि बेठीक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन् । यसको उत्तर हामी प्रत्येक हप्ता कति अन्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ । उक्त अध्ययनका अनुसार दिनमा जम्मा दुईवटा मात्रै अन्डा खाँदा पनि त्यसले मुटुलाई नोक्सानी पु¥याउन र उमेर नपुग्दै मृत्यु हुन सक्छ ।

अन्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले खतरा देखिएको हो । एउटा ठूलो अन्डामा करिब सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य संगठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो ।

उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको ६ वटा परीक्षणहरूको तथ्यांकमा आधारित विश्लेषण हो । अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय मिलिग्राम कोलेस्ट्रोल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन् ।

उनीहरूले हप्तामा तीनदेखि चारवटा अन्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा ६ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन् । दिनको दुइवटा अन्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशस् २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ ।

सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्ति सेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो । ‘हाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिसले उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अन्डा हो भने अन्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो,’ अध्ययनकी एक लेखिका तथा नर्थवेस्टर्न युनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन् ।

पुराना अध्ययनहरूले अन्डा खानु र मुटुरोगको सम्बन्ध नरहेको देखाएकोमा नयाँ अध्ययन विरोधाभाषपूर्ण देखिएको छ । तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमुना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए । यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटि हुन सक्ने बताएका छन् ।

सहभागीले गएको महिना वा वर्षहरूमा अन्डा खाएकोबारे प्रश्नोत्तरमार्फत् जानकारी दिनुपर्ने भएकाले सो अध्ययनको निष्कर्ष अपूर्ण हुनसक्ने देखिएको छ । अन्य विज्ञहरूले यो अध्ययनले अन्डाको खान्की र मुटुरोगबीचको सम्बन्ध देखाए पनि मुटुसम्बन्धी रोगको कारणकै रूपमा अन्डाको आहारलाई स्थापित गर्न नसकेको बताएका छन् ।

‘यो अध्ययनको बलियो पक्ष भनेको यसले अमेरिकी जनसंख्याको जातीय विविधता र सामान्य अमेरिकीहरूले लिने आहारको प्रतिनिधित्व गरेको छ,’ लन्डनको किंग्स कलेजका पोषण तथा खानपिनसम्बन्धी प्राध्यापक टम स्याण्डर्सले भने ।

‘यसको सीमितता भनेको यो आहार लिने एउटै आँकलन विधिमा मात्रै निर्भर छ ।’ त्यसो भए हामीले कतिवटा अन्डा खानुपर्छ त ? अध्ययनकर्ता एलेन हप्तामा तीनवटाभन्दा बढी खान नहुने सुझाउँछिन् ।

उनी अन्डा खान मन पराउनेहरूलाई दिने सुझाव चाहिँ अन्डाको सेतो भाग मात्रै खानु भन्ने हो । ‘मैले मानिसहरूलाई आफ्नो खानेकुराबाट अन्डालाई पूर्ण रूपमा हटाउन भनिरहेकी छैन,’ उनले भनिन् ।

‘म केवल मानिसहरूलाई ठीक्क मात्रामा खान भनिरहेको छ ।’ टम स्याण्डर्सले भने यो अध्ययन अमेरिकी नागरिकहरूमा मात्रै केन्द्रित भएको ठान्छन् । ‘औसतमा अमेरिकीहरूले दैनिक खाने कोलेस्ट्रोल करिब ६ सय मिलिग्रामसम्म हुनसक्छ जुन ब्रिटेनले प्रतिदिन लिने दुई सय २५ मिलिग्रामभन्दा धेरै बढी हो,’ स्यान्डर्स भन्छन् ।

अन्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टरनेसनल एग कमिसनको सन् २०१५ को तथ्यांकले अमेरिकीहरू विश्वमा धेरै अन्डा खानेमा पाँचौ देशमा पर्छन् । जसले प्रत्येक वर्ष प्रतिव्यक्ति २ सय ५२ खान्छन् । तर, त्यहाँ २० प्रतिशत मृत्युको कारण मुटुरोग हो ।

तर, प्रतिवर्ष प्रतिव्यक्ति ३ सय २८ वटा अन्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन् । ‘हप्तामा तीनदेखि चारवटा अन्डा खानु ठीकै हुन्छ,’ ब्रिटिस विज्ञले थपे ।

प्रकाशित : आइतबार, असार ०७, २०७७१४:०६

शरीरमा सेता रक्तकोषको मात्रा बढाएर हरेक रोग विरुद्ध बलियो बन्नु छ ? छ भने यसो गर्नुहोस् !