एजेन्सी – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका दुई महत्वपूर्ण खेलाडी बीच सम्बन्ध बिग्रिएको छ। एन्टोइन ग्रिज्मान र लियोनेल मेसी बीच सम्बन्ध बिग्रिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

प्रशिक्षणका क्रममा यी दुई खेलाडी बीच भनाभन भएको र यी दुई बीच हात-हालाहालको स्थिति शिर्जना भएपछि अन्य खेलाडी तथा प्रशिक्षकले छुट्याउनु परेको समाचारहरु आएका छन्।

स्पेनका खेल पत्रिकाहरुका अनुसार प्रशिक्षणका क्रमक यी दुई बीच झगडा भएको थियो भने यी दुईलाई क्लबका अन्य खेलाडी तथा प्रशिक्षक किके सेटिनले छुट्याएका थिए।

पछिल्लो समय यी दुई खेलाडी बीच सम्बन्ध राम्रो नरहेको अनुमान गरिएका बेला यस्तो खुलासा भएको हो। गत हप्ता लेगानेसविरुद्ध भएको खेलमा मेस्सीले ग्रिज्मानलाई पास नदिएको देखिएसँगै यी दुई बीच सम्बन्ध बिग्रिएको अनुमान गरिएको थियो। तर, अहिले भने यी दुई बीच झगडा नै भएको खुलासा भएको छ।

यी दुई बीच बिग्रिएको सम्बन्धले बार्सिलोनाको उपाधि यात्रामा असर पुर्याउन सक्ने तर्फ प्रशिक्षक किके सेटिनलाई चिन्तित बनाएको बताइन्छ। यी दुई बीच सम्बन्ध सुधार नभएको अवस्थामा आगामी खेलमा गार्हो हुने सेटिनलाई चिन्ता भएको बताइन्छ।

मेस्सीसँगको सम्बन्धकै कारण ग्रिज्मानको भविष्य बार्सिलोनामा धेरै नरहेको बताइन्छ। उनको छिट्टै अर्को क्लबमा ट्रान्सफर हुन सक्ने सम्भावना छ। पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिली स्टार नेयमार फिर्ता ल्याउन चाहिरहेको बार्सिलोनाले ग्रिज्मानलाई बेच्ने अथवा पीएसजीसँग सट्टा-पट्टामा प्रयोग गर्न सक्नेछ।

