महतो भन्छन् – नेपालमा फिजीकरण मधेशबाट हुँदैन, भए अन्य ठाउँबाट हुन्छ’

काठमाडौँ – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालीसंग विवाह गरेर आउने विदेशी बुहारीलाई ७ वर्ष पछि मात्रै नागरिकता दिने प्रावधान मधेशीहरुलाई दुख दिन ल्याइएको बताएका छन्।

एक अनलाइनसँग कुराकानी गर्दै उनले नेपालीसंग विवाह गरेर आउने विदेशी बुहारीलाई ७ वर्ष पछि मात्रै नागरिकता दिने प्रावधानका कारण जनताको भावनामाथि ठेस पुगेको बताएका हुन्। नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट पारित गराउँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बहुमतको दम्भ देखाएको उनको दुखेसो छ।

“बहुमतको दम्भ देखाएर विजय प्राप्त गरियो, त्यो नेपाल कम्युनिष्ट पार्टीलाई लागेको छ । यसले राष्ट्रियता, राष्ट्रवाद र जनता हारेको छ । करोडौं जनताको भावनामाथि कुठाराघाट भएकाले देश र जनताको लागि राम्रो भएन । वैवाहिक अंगिकृतको लागि अहिले ७ वर्षको प्रावधान त गुमराहमा छ । अंगिकृतको लागि भारतमा केही न केही वर्ष राखेको त्यसकारण हामीले पनि नेपालमा राख्यौं भनेर कम्युनिष्ट पार्टीले भन्न सक्ने भयो ।”,उनले अन्तर्वार्तामा भनेका छन्।

वर्तमान सरकारले नेपालको आफ्नो वस्तुस्थितमाथि ध्यान नदिएको र मधेशका जनताको भावना, संस्कार, संस्कृति र अधिकारमाथि प्रहार गरेको उनले आरोप लगाए। विवाह भएर आउने चेली-बेटीले विवाह भएकै घर आफ्नो मानेर आउने हुँदा वैवाहिक अंगिकृत नागरिकतामा कडाई गर्न नहुने उनको भनाई छ।

यस्तै उनले नेपाललाई फिजी बन्नबाट जोगाउन यो नागरिकता ऐन भन्ने कुरामा कुनै सत्यता नरहेको दावी गरेका छन्। मधेशबाट नेपालमा फिजीकरण नहुने उनको दावी छ। मधेसका जनतालाई हिजो कमाउ, गडवालबाट आएको जस्तो सोच्न नहुने उनी बताउँछन्।

“मधेसका जनतालाई हिजो कमाउ, गडवालबाट आएको जस्तो जनता सोच्नुहँदैन । मधेसीहरुले त मधेसमा बसोबास गरेका छन् । उनीहरुको संस्कार, संस्कृति, रहनसहन जोडिएको मात्रै हो । राष्ट्र, राष्ट्रियतामा शंका गर्न मिल्दैन । जसरी मधेसी जनतामाथि फिजीकरणको शंका गरिएको छ । यदि फिजी भयो मधेसबाट होइन अन्य ठाउँबाट हुन सक्छ । मधेस भनेको भूमि हो । कहिले यता भएको होला कहिले उता भएको होला तर जनता यताउता भएका छैनन् ।”,उनले भनेका छन्।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७०९:०६

जसपा सांसदको चेतवानी – “भारतीय चेली ल्याउँदैमा राष्ट्रघाती भइन्छ भने आन्दोलनमा जान्छौं’