चेल्सीले सिटीलाई हराएपछि लिभरपुल प्रिमियर लिग च्याम्पियन

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी बिहीबार रातीको खेलमा चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले ७ खेल अगाडी नै उपाधि जितेको हो ।

घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । अमेरिकी विंगर क्रिस्टियन पुलिसिचले चेल्सीका लागि पहिलो गोल गरेका थिए । कर्नरपछि सुरु भएको काउन्टर अट्याकमा सिटीको डिफेन्सले गल्ति गरेपछि पुलिसिचले आफ्नै हाफबाट बल अगाडी बढाउँदै वन भर्सेस वन स्थितिमा पुगेर गोल गरेका थिए ।

दोस्रो हाफको ५५ औं मिनेटमा केभीन डे ब्रुएनले बराबरी गोल फर्काए । डे ब्रुएनले झन्डै २५ यार्ड टाढाबाट सिधै फ्रिकिकमा गोल गरेका थिए । ५७ औं मिनेटमा सिटीले अग्रता लिने अवसर पाएपनि रहिम स्टर्लिङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् ।

खेलको ७८ औं मिनेटमा चेल्सीले विलियनको गोलमा पुन: अग्रता लियो । ट्यामी अब्राहमले ६ यार्ड बक्स भित्रबाट गरेको प्रयासलाई फर्नान्डीन्होले गोललाइनबाट क्लियर गरेको देखिएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिएका थिए । भीएआरबाट फर्नान्डीन्होले ह्यान्ड गरेको देखिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टी दिएका थिए । विलियनले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

यस नतिजासँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ । चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दुरी १ अंकमा झार्यो ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७०१:३६

युभेन्टसको सानदार जित