युभेन्टसको सानदार जित

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस’ले शुक्रबार रातिको खेलमा लेच्चेलाई ४-० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुआइन र म्याथिस डि लिग्टले गोल गरे ।

सुरुवाती समयमा घरेलु टोली युभेन्टस केहि दबाबमा रहेपनि लेच्चेको महँगो गल्तीले खेलको गति बदलिएको थियो । खेलको ३१ औं मिनेटमा फाबियो लुचिओनिले रातो कार्ड पाएपछि पाहुना टोली लेच्चे १० खेलाडीमा सिमित भयो । लुचिओनिले गोलतर्फ अगाडी बढिरहेका रोड्रीगो बेन्टान्कुरलाई लडाएपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

युभेन्टसले खेलको ५३ औं मिनेटमा डिबालाको गोलमा अग्रता लिएको थियो । रोनाल्डोको पासलाई पेनाल्टी क्षेत्रबाहिर रहेका डिबालाले उत्कृष्ट प्रहार गर्दै टप कर्नरमा फिनिस गरेका थिए । ५८ औं मिनेटमा माटुइडीको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रभित्र रोनाल्डोलाई लेच्चेका डिफेन्डरले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई रोनाल्डोले पेनाल्टीमा शक्तिशाली प्रहार गर्दै गोलमा परिणत गरे ।

६९ औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो गोलबाट बन्चित भए । माटुइडीको क्रसमा उनले गरेको हेडरलाई गोलरक्षक ग्याब्रीएलले उत्कृष्ट बचाउ गरेका थिए । ७१ औं मिनेटमा म्याथिस डी लिग्टले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षकले विफल पारिदिए ।

८३ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका हिगुआइनले गोल गरे । रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको ब्याक फ्लिकलाई हिगुआइनले गोलमा परिणत गरेका थिए । त्यसको दुई मिनेट नबित्दै डग्लस कोस्टाको पासमा डि लिग्टले हेडर मार्फत गोल गरे ।

यस जितसँगै युभेन्टसले लिगको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । साविक विजेता युभेन्टसको २८ खेलमा ६९ अंक छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक रहेको छ । लाजियोले शनिबार फिओरेन्टिनाको सामना गर्नेछ । लेच्चे भने २८ खेलमा २५ अंकसहित १८ औं स्थानमा रहेर रेलिगेसन टार्न संघर्षरत छ ।

प्रकाशित : शनिबार, असार १३, २०७७०३:१९

रोनाल्डोको यो उत्कृष्ट गोल जसले ७ सय गोल पूरा गरेका मेस्सीलाई ओझेलमा पार्यो …[भिडियो]