एजेन्सी – स्यानिटाइजर पिएका कारण न्यू मेक्सिकोमा तीन जनाको ज्यान गएको छ भने एक व्यक्ति अन्धो भएका छन्। साथै थप तीन व्यक्तिको अवस्था गम्भीर रहेको न्यू मेक्सिको स्वास्थ्य विभागले जनाएको छ। न्यू मेक्सिको स्वास्थ्य विभागले एक विज्ञप्ति जारी गर्दै स्यानिटाइजर पिएका कारण मानव हाताहाती भएको पुष्टि गरेको छ।
“सात व्यक्तिले स्यानिटाइजर पिएको पुष्टि भएको छ। जस मध्ये ३ जनाले ज्यान गुमाएका छन् भने ४ जनाको अवस्था गम्भीर छ। अवस्था गम्भीर रहेका मध्ये एक जनाको आँखाको ज्योति गुमेको छ।”,एक विज्ञप्ति जारी गर्दै न्यू मेक्सिको स्वास्थ्य विभागले भनेको छ।
स्यानिटाइजरमा रक्सि हुने भन्दै पिएको कारण उनीहरुको यस्तो हविगत भएको विभागको भनाई छ। स्यानिटाइजरमा हुने मेथानोलले उनीहरुको स्वास्थ्यमा गम्भीर असर पारेको विभागले जनाएको छ। यस प्रकारका घटना मे महिना देखि नै प्रकाशमा आएको बताइन्छ। स्यानिटाइजर सेवनका कारण भएको घटना बारे न्यू मेक्सिको स्वास्थ्य विभाग जानकारी गराएपनि घटना कुन ठाउँमा भएको हो र थप विवरण बारे भने केहि पनि जानकारी दिएको छैन।
न्यू मेक्सिकोला राज्य स्वास्थ्य सचिव क्याथी कुन्केलका अनुसार कसैले स्यानिटाइजर सेवन गरिहाले सक्दो छिटो उपचार गर्नुपर्ने हुन्छ। मेथानोल विषाक्तिको औषधी उपलब्ध हुने र समयमै उपचार भए बिरामीलाई बचाउन सकिने उनी बताउँछन्।