काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ। ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमितको ज्यान गएको हो।
ज्यान गुमाउनेमा रौतहटका २९ वर्षीय पुरुष रहेका छन्। उनको गएराति अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै उनको मृत्यु भएको बताइएको छ। उनी दमका रोगी समेत थिए।
थप एक व्यक्तिको कोरोनाका कारण ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ।
आगलागीमा बालिकाको ज्यान गयो
भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ ।
विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब रु १७ लाख बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।