ओलीलाई भट्टराईको प्रश्न – “भारतीय राजदूतलाई देश निकाला किन नगरेको?”

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालका लागि भारतीय राजदूतलाई देश निकाला किन नगरेको भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्।

मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले सरकार ढाल्न खोज्ने राजदूतलाई देश निकाला किन नगरेको भन्दै प्रश्न गरेका हुन्।

ओलीले केहि दिन अगाडी नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारत सक्रिय भएको र भारतीय राजदूतवासको सक्रियतामा विभिन्न होटलमा बैठक भइरहेको आरोप लगाएका थिए। जस उपर लक्षित गर्दै मंगलबार भट्टराईले यस्तो प्रश्न गरे।

“प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ। त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न?”,प्रश्न गर्दै भट्टराईले भने।

प्रधानमन्त्रीले बेतुकका कुरा गर्ने गरेको भन्दै पनि उनले आक्रोश पोखे। पार्टी फुटाउने विधेयक ल्याउने, प्रतिनिधिसभामा हाच्छ्यूँ गरेर कोरोनालाई उडाइदिनुपर्छ भनेर बेतुकका कुरा गरेर ओलीले जग हँसाएको भट्टराईको आरोप छ।

यस्तै भट्टराईले अंगीकृत नागरिकताको व्यवस्थामा महिला र पुरूषलाई समान अधिकार दिइनु पर्ने माग पनि गरे। नागरिकताको एजेन्डा मधेशको मात्र नभएर सिंगो देशको रहेको भन्दै उनले अंगीकृत नागरिकताको व्यवस्था महिला र पुरुषलाई समान हुनुपर्ने उनको भनाई छ। दोस्रो दर्जाका नागरिकका रूपमा कसैलाई पनि नराख्न उनले माग गरे।

प्रकाशित : मङ्गलबार, असार १६, २०७७१०:२६

घट्यो दैनिक संक्रमण संख्या: नेपालका १९ दिन यताकै न्यून संक्रमित फेला !