घट्यो दैनिक संक्रमण संख्या: नेपालका १९ दिन यताकै न्यून संक्रमित फेला !

काठमाडौँ – मंगलबार ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ सय १६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। २४ घण्टामा ७१ महिला र २ सय ४५ पुरुषमा कोरोनाको पुष्टि भएको उनले बताए।  यससँगै १ हजार ६ सय ५७ महिला र ११ हजार ९ सय ७ पुरुष गरी नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। बितेको २४ घण्टामा पुष्टि भएको कोरोना संक्रमितको संख्या गत जेठ २९ यताकै कम हो।

यस्तै बितेको २४ घण्टामा नेपालका ६० जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। मंगलबार डिस्चार्ज हुनेहरुमा ९ जना महिला र ५१ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ। हाल सम्म २ सय ७७ जना महिला र २ हजार ९ सय १७ जना कोरोना संक्रमित पुरुष निको भैसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ४ हजार ७ सय ११ पिसिआर परीक्षण भएको छ। क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा १० हजार ३ सय ४१ जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : मङ्गलबार, असार १६, २०७७१०:५८

काठमाडौँ उपत्यकामा थपिए १४ जना कोरोना संक्रमित !