काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार मध्यरातिबाट लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाउने निर्णय गरिएको नेपाल आयल निगमले जनाएको छ। नयाँ मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य पठाएसँगै मूल्य समायोजन गर्न मंगलबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो। भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएको बताइएको छ।

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाइए पनि एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ।

