काठमाडौँ – अध्यक्ष प्रचण्डले राजिनामाको विषय उठाएपछि प्रधानमन्त्री ओली पनि कडा प्रतिवादमा उत्रिदै भारतको विरोध गर्दा नेकपाका नेताको किन चित्त दुख्यो भन्दै प्रतिप्रश्न गरेका थिए । उनले आफ्नो अभिव्यक्तिले पार्टी र राष्ट्रको प्रतिष्ठामा कुनै आँच नआएको प्रष्ट पारे । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
उनले नक्सा छापिएपछि देखिएको परिस्थितिका बारेमा आफूले बोल्दा कसरी पार्टी र देशको प्रतिष्ठा गि¥यो ? भनी नेताहरूलाई प्रतिप्रश्न गरे । ‘नक्सा छापिएको विषयपछि देखिएको परिस्थितिका बारेमा मैले बोलेको हुँ, त्यो विषयलाई स्पष्ट गरेको हुँ,’ ओलीले भने, ‘हामीले गरेको कामको बारेमा राखेको धारणाले कसरी देश र पार्टीको अपमान भयो ? तपाईंहरूले के बुझ्न थाल्नुभएको हो?’ प्रधानमन्त्री ओलीले स्थायी कमिटीकै नेताहरुलाई पनि प्रश्न गर्दै भने, ‘दिल्लीका मिडियामा आएका कुरा र त्यसैमा देशभित्र उठेका कतिपय कुराहरु हुबहु कसरी मिल्छ ? त्यसमा के संगति छ ? के कुरा चाही जोडिएको छ ? किन मिलिरहेका छन् ?’
उनले नेकपा एमाले निवेदन दर्तामा आफुलाई जवरदस्त तानेर विवादमा ल्याउन खोजिएकोमा पनि आपत्ति जनाए । उनले म नेकपाको अध्यक्ष हो र यो पार्टीमा निर्माणमा आफ्नो भूमिका रहेकाले अरु विषय जानकार नभएको बताए । ‘पार्टी एकताको एक बर्ष पुगेपछि पहिलाका पार्टीको नाम र चिन्ह राखेर जोसुकैले पनि दल दर्ता गर्न सक्ने प्रावधान छ, यही प्रावधानअनुसार कसैले नेकपा एमाले भनेर दर्ताको निवेदन दियो होला, माओवादी केन्द्रको पनि गोपाल किँरातीले दर्ता गरेरै राख्नुभएको छ, त्यस्तै होला, मलाई यो बिषयमा जोडनु आपत्तिजनक छ,’ प्रचण्डलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीको भनाई थियो ।
निक्कै आक्रोशित रुपमा प्रस्तुत भएका ओलीले आफुमाथी प्रहार आफुसँग दुई विकल्प रहेको स्पष्ट शब्दमा भनेका छन् । ‘ममाथि अस्वभाविक बाण प्रहार हुन्छ भने मैले सुरक्षाका लागि कि त ढाल प्रयोग गर्नूपर्छ, कित बाण फर्काउनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्रीले अन्य थुप्रै बिषयमा आफ्ना कुरा राख्दै गर्दा बरिष्ठ नेता खनालले तीन पटकसम्म बोल्नबाट रोक्न खोजेका थिए । तर, ओलीले कुनै जवाफ नफर्काएको एक नेताले जानकारी दिए ।

