काठमाडौं । काठमाडौं उपत्यका पुन एकपटक कोरोनाको उच्च जोखिममा पर्न थालेको छ । बुधबार एकैपटक उपत्यकाका तीन जिल्लामा १७ जना कोरोना संक्रमित फेला परेपछि जोखिम बढेको हो । संक्रमित मध्ये केही विदेशबाट आएका हुन् भने केही देशभित्रै विभिन्न ठाउबाट आएका पनि रहेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार भेटिएका ४८२ संक्रमित मध्ये १७ जना काठमाडौं उपत्यकाका हुन् । जसमध्ये काठमाडौंका १०, ललितपुरका पाँच र भक्तपुरका दुई जना रहेका छन् । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र राजधानीको विभिन्न अस्पतालका आइसोलेसनमा राखिएको छ ।
बुधबार सबैभन्दा बढि सुदूरपश्चिम प्रदेशका २४३ जना संक्रमण भेटिएको छ । प्रदेश–२ मा ६२, कर्णाली प्रदेशमा ४२, गण्डकी प्रदेशमा ४१, प्रदेश–५ मा ३६, बागमतीमा ३० र प्रदेश–१ मा २८ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । हालै मात्रै सुदूरपश्चिम प्रदेशमा मात्रै १ सय ७५ जना बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको उमेर ९ वर्षभन्दा कम रहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका सबै बालबालिकाहरु आफ्ना आमाबुवासँगै भारतबाट फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।
कोरोना संक्रमणबाट मुलुकका केही स्थानहरुमा बालबालिकाहरुको समेत मृत्यु भएकाले उनीहरुलाई संक्रमणबाट जोगाउनका लागि आमाबुवा र अभिभावकको मुख्य जिम्मेवारी हुने गौतमले बताए । बालबालिकाहरुलाई कोरोना संक्रमण हुन नदिन उनीहरलाई सकेसम्म घरमै राख्ने र भीडभाडमा जान नदिन प्रवक्ता गौतमले आग्रह गरे ।
प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म चार हजार ६५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यसैगरी, कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अछाम जिल्ला रामारोशन गाउपालिका–५ का ४५ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । गौतमका अनुसार उनको यही असार १४ गते सोही ठाउँको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । मधुमेह रोगको समस्या रहेको उनको यही असार १६ गते संक्रमण भएको पृष्टि भएको थियो । उनीसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सख्या ३० पुगेको छ ।