ग्रिजमनलाई युभेन्टस पठाएर युभेन्टसका अन्य दुई खेलाडी ल्याउने बार्सिलोनाको तयारी !

एजेन्सी – अघिल्लो साता मात्र मिडफिल्डर आर्थर मेलो र मिरालेम प्यानिचबीच साटफेर गरेका इटालियन क्लब युभेन्टस र क्याटलान क्लब बार्सिलोनाले अर्को ट्रान्सफर सम्झौता गर्ने सम्भावना बढेको छ ।

इटालियन संचारमाध्यम आरएआईका अनुसार बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनलाई युभेन्टस पठाउँदै इटालियन क्लबबाट दुई खेलाडी माग गर्दै प्रस्ताव अगाडी सारेको छ । यसै सिजनको सुरुवातमा कीर्तिमानी मुल्यमा बार्सिलोना आएपनि अपेक्षित प्रदर्शन गर्न नसक्दा बार्सिलोनाले ग्रिजमनमाथि विश्वास गर्न सकेको छैन । अर्को सिजन हेर्ने भन्दापनि क्लबले उनलाई बेच्ने निर्णय गरेको हो ।

बार्सिलोनाले पछिल्ला केहि वर्ष ट्रान्सफर बजारमा खुलेर खर्च गरेपनि त्यसअनुसार प्रतिफल भने पाउन सकेको छैन । ग्रिजमनसँगै फिलिपे कोउटिन्हो, ओस्मान डेम्बेले लगायत खेलाडीलाई मोटो रकम तिरेपनि क्लब मेस्सीकै भरमा छ । मैदानभित्र क्लबको मेस्सीमाथि निर्भरता परिवर्तन हुन सकेको छैन ।

बार्सिलोनाले राखेको प्रारम्भिक प्रस्तावअनुसार युभेन्टसले ग्रिजमनको सट्टामा मिडफिल्डर एड्रीएन राबीओट र विंगर डग्लस कोस्टा फिर्ता दिनेछ । त्यसमा थप केहि रकमबारे पनि छलफल हुने बार्सिलोनाको माग छ । भर्खर मात्र मिडफिल्डर आर्थर र प्यानिचको सम्झौता पूरा गरेकाले दुई क्लबबीच सुमधुर सम्बन्ध रहेको आंकलन गर्न सकिन्छ ।

बार्सिलोनाले ग्रिजमनलाई क्लबबाट बाहिर पठाउनुको मुख्य कारण भने अन्य खेलाडीलाई स्थान बनाउन खोजेको पनि हुनसक्छ । पछिल्लो समय इन्टर मिलानको लौटारो मार्टिनेज र पीएसजीका नेयमार क्लब फर्कने चर्चा पनि छ । तर त्यसका लागि ग्रिजमन क्लबमा रहँदा समस्या थप बल्झिने देखिन्छ । त्यसैले पनि बार्सिलोनाले ग्रिजमनलाई पठाएर उनको स्थानमा अन्य पोजिसनका खेलाडी ल्याउने प्रस्ताव गरेको हो ।

प्रकाशित : शनिबार, असार २०, २०७७०३:२५

४२ असफल प्रयास पछि रोनाल्डोको त्यो उत्कृष्ट फ्रिकिक गोल… [भिडियो सहित[