ट्रम्पको दाबि – ‘कोरोनाभाइरसले ९९ प्रतिशत असर गर्दैन’

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमण ९९ प्रतिशत हानिरहित रहेको बताएका छन्। अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ट्रम्पले कोरोनाभाइरसको संक्रमण ९९ प्रतिशत हानिरहित रहेको बताएका हुन्।

विश्वकै सबै भन्दा धेरै कोरोना परीक्षण गरेका कारण अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या धेरै देखिएको उनले दावी गरे। उनका अनुसार धेरै परीक्षण गरेका कारणले गर्दा मात्रै अमेरिकामा धेरै संक्रमित भेटिएका हुन्।

“हामीले करिब ४ करोडमा कोरोना भाइरस संक्रमणको परीक्षण गरिसकेका छौँ। हामीले जति परीक्षण कुनै पनि देशले गर्न सकेको छैन। परिमाणमा मात्र नभई परिणाममा पनि हामी अगाडी छौँ।”,उनले भने,”अमेरिकामा देखिएको कोरोना ९९ प्रतिशत हानिरहित देखिएको छ।”

ट्रम्पले कोरोना विरुद्ध आफूले अवलम्बन गरेको रणनीतिले राम्रो काम गरिरहेको पनि दावी गरे। पछिल्लो समय केहि राज्यहरुमा कोरोना संक्रमितको संख्या बढिरहेको भएपनि कोरोना संक्रमण पूर्ण हानिरहित देखिएको उनको दावी छ। अमेरिकामा भएका परीक्षणले कोरोना हानिरहित रहेको पुष्टि गर्ने उनले बताए।

यस्तै उनेल विश्वका अधिकांश मुलुकमा कोरोना भाइरस संक्रमण पुगेको प्रति चीन उत्तरदायी हुनुपर्ने पनि दोहोराए। चीनको गोपनीयताको नाममा छल तथा वास्तविकता लुकाउने कार्यले गर्दा विश्वभर कोरोना फैलिएको उनको भनाई छ। यसभन्दा अगाडी उनले भाइरसलाई चीनबाट आएको भयानक प्लेग भनेका थिए।

ट्रम्पले कोरोनाभाइरसको संक्रमण ९९ प्रतिशत हानिरहित भनेपछि उनको आलोचना भइरहेको छ। विज्ञहरुले उनको यस भनाईलाई आधारहिन र तथ्यहीन भनिरहेका छन्।

प्रकाशित : आइतबार, असार २१, २०७७१०:३७

काठमाडौँ उपत्यकामा ३० कोरोना संक्रमित थपिए !