लकडाउनमा चोरलाई मौका !

चितवन, कोभिड–१९ सङ्क्रमण रोक्न गरिएको लकडाउन सर्वसाधारणका लागि सकस भए पनि चोरका लागि भने अवसर बनेको छ । चोरले लकडाउनलाई अवसरका रूपमा प्रयोग गरेका छन् । चोरको बिगबिगी बढेपछि कतिपय वडा र टोलमा रात्रि गस्ती सुरु गरिएको छ ।

महानगरपालिकाका ग्रामीण क्षेत्रमा खसीबोका र सहरी क्षेत्रमा घर, पसल चोरीका घटनामा वृद्धि भएपछि कतिपयले प्रहरीमा जानकारी गराएका छन् । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १४, २२, २४ र २५ मा रातको समयमा घरबाट खसीबोका चोरी भएको छ । जिल्ला प्रहरी प्रमुख नान्तिराज गुरुङले चोरीको घटना बढ्न नदिन सहरी क्षेत्रमा रात्रि गस्ती र निगरानी बढाइएको बताउनुभयो । कोरोनाका कारण बेरोजगारी बढेको र कतिपयले दैनिक गुजारा गर्न समस्या भएपछि चोरीमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उहाँले केही चोरलाई प्रहरीले पक्राउ गरे पनि कोरोना सुरक्षा थ्रेडका कारण धेरै दिन नराख्ने भएकाले चोरहरू झनै सक्रिय भएको बताउनुभयो ।

लकडाउनको पहिलो एक महिनाको अवधिमा टोलका चार ठाउँमा चोरी भएपछि भतरपुर–२, क्षेत्रपुरको मिल्स एरिया टोल विकास संस्था र नारायणी नमस्ते टोल विकास संस्थाले रात्रिकालीन गस्तीका लागि सुरक्षा गार्ड नै राखेको छ । भरतपुर महानगरपालिका–२ का वडा सदस्य विष्णु अधिकारीले सुरक्षा गार्ड राखेपछि चोरीको घटनामा कमी आएको बताउनुभयो ।

वडा नं. २४ का वडाध्यक्ष कान्छा मल्लले वडामा युवाको गस्तीपछि समस्या नदेखिएको र वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले युवाले गस्ती गरेपछि चोरीमा केही कमी आएको छ भन्नुभयो । वडा २२ का वडाध्यक्ष विष्णुराज महताले आफ्नो वडाका चारवटा घरका नौवटा खसीबोका हराएको जानकारी आएको भन्दै रातको समयमा बोलेरो गाडी नै लिएर चोरी गर्ने गरेको घटना प्रहरीलाई जानकारी गराइएको बताउनुभयो ।

उता वडा नम्बर १३ का वडाध्यक्ष प्रकाश दवाडीका अनुसार छिमेकी वडामा चोरीको घटना बढेपछि सजगता अपनाउन थालिएकोे छ । वडा नं. १४ का वडाध्यक्ष ओमप्रसाद पोखरेल र २५ नम्बरका वडाध्यक्ष विजयकुमार भुजेलले स्थानीय तहमा चोरीको घटनाका बारेमा छलफल भएपछि केही कमी आएको बताउनुभयोे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार चोरी अभियोगमा पक्राउ परेका कतिपयलाई होल्डिङका राखेर पठाउने र केही दसी प्रमाण भेटिएकालाई मुद्दासमेत चलाइएको छ ।

प्रकाशित : सोमबार, असार २२, २०७७०२:१९

देउवा फेरी प्रधानमन्त्री बन्ने हल्ला: ‘सत्ता साझेदारी हल्ला मात्रै’