काठमाडौँ उपत्यकामा कोरोनाले लियो तीन जनाको ज्यान !

File photo

काठमाडौँ – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित ३ जनाको मृत्यु भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको ज्यान गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ३ जनाको ज्यान गएको जानकारी दिए।

शनिबार नियमित प्रेस ब्रिफिङमा उनले काठमाडौं महानगरपालिका–१० शंखमूखका ६० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको बताए। उनका अनुसार सिन्धुपाल्चोकको पाँचपोखरी–६ घर भई पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको समेत असार २५ गते ज्यान गएको छ।

काठमाडौंको गोकर्णेश्वर–४ का ५४ वर्षीय पुरुषको असार २५ गते उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको पनि उनले बताए।

शनिबार ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । यस्तै बितेको २४ घण्टामा नेपालका ४ सय ३१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

बितेको २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित : शनिबार, असार २७, २०७७११:२४

बिल गेट्स भन्छन् – ‘कोरोनाको खोप धन हेरेर होइन, आवश्यकता हेरेर दिइनुपर्छ’