घरेलु मैदानमा पहिलोपटक रोकियो च्याम्पियन लिभरपुल

एजेन्सी – इंग्लिस प्रिमियर लिगको च्याम्पियन टोली लिभरपुल शनिबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ ।

सिजनभर घरेलु मैदानमा शत प्रतिशत जित दर्ता गरेको लिभरपुलले पहिलो पटक अंक गुमाएको हो । खेलको ३४ औं मिनेटमा एन्डी रोबर्टसनले लिभरपुललाई अग्रता दिलाएका थिए । फाबिन्होको लामो पासलाई रोबर्टसनले हेडरमार्फत गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा लिभरपुलले सिर्जना गरेको आक्रामक प्रयासमा गोलरक्षक निक पोप बाधक बनिरहे । पहिलो हाफमा केहि उत्कृष्ट बचाउ गरेका पोपले दोस्रो हाफमा पनि उत्कृष्ट लय कायम राखे । खेलको ६९ औं मिनेटमा पाहुना टोलीले जे रोड्रीग्वेजको गोलसँगै खेल बराबरीमा ल्याएको थियो । जेम्स टार्कवस्कीको हेडरबाट आएको बललाई रोड्रीग्वेजले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलको अन्तिम समयतिर दुवै टोलीले जित हासिल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेनन् । योहान गुडमुन्डसनको प्रहार क्रसबारमा लागेर बाहिरिंदा अर्कोतर्फ मोहमद सलाहले अनमार्क रहेको अवस्थामा गरेको प्रहारलाई पोपले बचाए ।

यस बराबरीसँगै लिभरपुलले चेल्सीले कायम गरेको एकै सिजनमा सर्वाधिक घरेलु जितको कीर्तिमान तोड्न नसक्ने भएको छ । अब अन्तिम खेलमा चेल्सीलाई पराजित गरे मात्र लिभरपुलले १८ जितको कीर्तिमान बराबरी गर्न सक्नेछ ।

लिभरपुलले प्रिमियर लिगमा सर्वाधिक अंकको कीर्तिमान तोड्न भने अझै कसरत गर्नुपर्ने भएको छ । म्यानचेस्टर सिटीले सन् २०१७-१८ मा १ सय अंक जोडेको थियो । लिभरपुलको हाल ३५ खेलमा ९३ अंक छ । अब बाँकी ३ खेलमा टोलीले ७ अंक जोड्नुपर्नेछ । बर्नली भने ३५ खेलमा ५० अंकसाथ नवौं स्थानमा पुगेको छ ।

प्रकाशित : आइतबार, असार २८, २०७७०१:५०

ला-लिगा इतिहाँसमा कसैले गर्न नसकेको काम मेस्सीले गरे, बनाए नयाँ रेकर्ड !