भारतीय न्यूज च्यानलल बारे खतिवडाको स्पष्ट भनाई – ‘बन्देज तत्काल खोल्न सकिँदैन’

काठमाडौँ – सरकारका प्रवक्ता डा.युवराज खतिवडाले भारतीय न्यूज च्यानलमाथि लगाइएको बन्देज तत्काल खोल्न नसकिने बताएका छन्।

आइतबार मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा उनले भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने बताएका हुन्। भारतीय सञ्चारमाध्यमहरुले इमानदारिता नदेखाएसम्म नेपालमा बन्द गर्नुपर्ने उनको भनाई छ। खतिवडाले परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको जानकारी गराए।

नेपाल सरकारले नेपालको नक्शा अद्यावधिक गरी जारी गरेपछि केही भारतीय सञ्चारमाध्यमले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्को छिमेकी देशको नाम समेत जोडेर कपोलकल्पित, दुराशयपूर्ण एवम् भ्रामक समाचार प्रकाशन र प्रसारण गरेका थिए ।

नेपालको सार्वभौससत्ता र अखण्डताविरुद्ध गरिएका गलत प्रचार नेपालभित्र प्रसारण हुन नमिल्ने गरी विदेशी च्यानल वितरकले बन्द गरिदिएका छन् । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत बिहीबार विज्ञप्तिमार्फत गलत र दुराशयपूर्ण प्रचार रोक्ने केबलहरुको निर्णयको स्वागत गरेको छ ।

केही भारतीय सञ्चारमाध्यमले नेपालको राष्ट्रियता र स्वभिमानमाथि नै प्रश्न उठाएर राजनेताको समेत मानमर्दन गर्ने, चरित्र ह-त्या गर्ने र एक प्रकारको दुराशययुक्त सामग्री प्रसारण गरेका सन्दर्भमा मन्त्रालयका तर्फबाट स्पष्ट शब्दमा खण्डनसमेत गरिसकिएको मन्त्री डा खतिवडाको भनाइ छ ।

पत्रकारिताको मान्यताको मातहतमा रहेर स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले समाचार सामग्री प्रसारण गरुन् भन्ने सरकारको मान्यता रहेको उनको भनाइ छ ।

नेपालको जमीनलाई नक्शालाई अद्यावधिक गरेका सन्दर्भमा राष्ट्रिय एकता प्रदर्शन भएको र नेपालीले देखाएको एकताबाट कोही तर्सेको र चित्तसमेत नबुझेको अवस्था पनि हुन सक्ने जनाउँदै उनले भने, “ नेपाललाई अपमानित गर्ने ढङ्गले दुराशयपूर्ण प्रचार पनि गरियो । त्यस्ता समाचार च्यानल सेवा प्रदायकले बन्द गरेर राष्ट्र, राष्ट्रियता र समाजप्रतिको जिम्मेवारी पूरा गरेका छन् । ”

प्रकाशित : आइतबार, असार २८, २०७७१३:२०

‘रुसले विश्वकै पहिलो कोरोना खोप बनायो’