‘छक्कापन्जा ब्राण्ड माथि प्रहार भयो, गाली गर्ने ७५ प्रतिशत फेक आइडीका’

काठमाडौँ – हाँस्यकलाकार तथा अभिनेता दिपक राज गिरीले आफूहरु महानायकको दौडमा नरहेको बताएका छन्। आइतबार एक भिडियो सन्देश जारी गर्दै उनले आफूहरु महानायकको दौडमा नरहेको बताएका हुन्।

‘महानायक’ प्रकरण पश्चात दीपाश्री निरौलाको आलोचना नरोकिएको र माफी माग्दा पनि सुख नपाएको प्रति टिप्पणी गर्दै गिरीले गल्ती गरेकै भरमा एक महिला माथि गालि-गलौज गर्न नमिल्ने बताए।

फरक मत राखेकै भरमा गाली गरिनु र माफी मागिसकेपछि पनि लगातार गालीको वर्षात हुनुलाई उनले गलत भनेका छन्। “के फरक मत राख्न नपाउने हामी किम जोङको समाज सिर्जना गरिरहेका छौँ ?”,उनले प्रश्न गरेका छन्।

राजेश हमाल र आफूहरु एउटै कर्ममा रहेको हुँदा राजेश हमाल महानायक हुन्÷होइनन् भनेर टिप्पणी गर्ने अधिकार आफूहरुसँग नरहेको उनको भनाई छ।

“राजेश हमाल महानायक हुन्÷होइनन् भनेर टिप्पणी गर्ने अधिकार हामीलाई छैन । किनभने हामी एउटै कर्ममा छौँ । हाम्रो पनि ‘छक्कापन्जा’ ब्राण्ड छ । एउटा ब्राण्डले अर्काे ब्राण्डलाई आरोप लगाउनु हुन्न।”,उनले भिडियोमा भनेका छन्। उनले एक हप्ता भन्दा बढी समय सम्म पनि दीपाको आलोचना नरोकिएको प्रति दुख व्यक्त गरेका छन्।

साथै उनले अहिले यस प्रकरणमा छक्कापन्जा ब्राण्ड माथि नियोजित रुपमै प्रहार भएको समेत संकेत गरेका छन्। आफूहरु विरुद्ध नकारात्मक टिप्पणी गर्ने धेरै जस्तोहरुले फेक आइडी प्रयोग गरिरहेको पनि उनले सुनाए। उनका अनुसार ‘छक्का पन्जा’ ब्रान्डमाथि प्रहार गर्ने ७५ प्रतिशत फेक आइडी छन्।

प्रकाशित : सोमबार, असार २९, २०७७०९:१५

काठमाडौं उपत्यकामा थपिए ९ कोरोना संक्रमित !