काठमाडौँ – सोमबार काठमाडौँ उपत्यकामा ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यका भित्र रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ९ जनामा कोरोनाको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले छिल्लो २४ घण्टामा काठमाडौंका तीन, ललितपुरका पाँच र भक्तपुरका एकजनामा संक्रमण देखिएको बताए।
देशभर सोमबार कोरोनाभाइरसका एक सय ४४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट एक सय ४४ जना संक्रमित थपिएको जनाए। यससँगै संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ। २४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको गौतमले जानकारी दिए।
सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको भएर दश हजार २ सय ९४ जना घर फर्किसकेका छन् जुन संख्या संक्रमित संख्याको ६०.७ प्रतिशत हो।
पछिल्लो जानकारी अनुसार क्वारेन्टिनमा २३ हजार चार सय ७० जना छन् भने आइसोलेसनमा छ हजार छ सय १३ जना छन्। नेपालमा कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।