एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उमेरले ३५ वर्ष पुगिसके। यस हिसाबले उनी फुटबल करियरको अन्त्य तिर छन् । तर, उनको खेलशैली हेर्दा भने त्यस्तो देखिँदैन। जारी सिजनमा उनी उत्कृष्ट लयमा छन्।

उनले इटालियन सिरी ‘ए’ को जारी सिजनमा युभेन्टसको लागि २८ गोल गरिसकेका छन् । २९ खेलबाट २८ गोल गरिसकेका उनी सिरी ‘ए’मा दोस्रो स्थानमा छन्। उनी भन्दा अगाडी लाजियोका सिरो इम्मोवाइल एक गोल मात्रै अगाडी छन्। रोनाल्डो गोल्डेन बुटको दौडमा भने तेस्रो स्थानमा छन् । रोनाल्डोअघि जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (३४) र लाजियोका सिरो इम्मोवाइल (२९) छन्।

लेवान्डोस्की मात्रै ६ गोलले अगाडी रहेको हुँदा रोनाल्डोले लेवान्डोस्कीलाई भेटाउने अथवा उछिन्ने सम्भावना उच्च छ। सिरी ‘ए’ मा युभेन्टसले अझ ५ चरणको खेल बाँकी रहेको अवस्था छ। जबकी बुन्डेस् लिगाका सम्पूर्ण खेल सकिसकेका छन्। यस हिसाबले लेवान्डोस्कीलाई पछि पार्दै रोनाल्डोले गोल्डेन बुटजित्न सक्छन्।

जारी सिजनको बाँकि खेलहरुमा विभिन्न उपलब्धि हाँसिल गर्न सक्छन् भने उनले अन्य केहि रेकर्ड पनि बनाउन सक्छन्। रोनाल्डोले बाँकि खेलमा बनाउन सक्ने रेकर्ड निम्न छन्।
बाँकि खेलमा पाँच गोल गर्न सके रोनाल्डोले ८६ वर्ष अगाडीको एक रेकर्ड तोड्न सक्छन्। युभेन्टसको लागि सिरी ‘ए’को एकै सिजनमा सर्वाधिक ३१ गोल गरेर फेलिस बोरेलले रेकर्ड बनाएका थिए। उक्त रेकर्ड आउने केहि खेलमै रोनाल्डोले तोड्न सक्छन्।
नापोलीमा हुँदा २०१५-१६को सिजनमा गोन्जालो हिगुएनले एकै सिजनमा ३६ गोल गरेका थिए। सिरी ‘ए’को कुनै पनि एक सिजनमा एक खेलाडीले गरेको सर्वाधिक गोल। बाँकि ५ खेलमा ९ गोल गर्न सके रोनाल्डोको उक्त रेकर्ड तोड्न सक्छन्।
सिरी ‘ए’का बाँकि ५ खेल र च्याम्पियन्स लिगका खेलमा ८ गोल गर्न सके सन् १९२५-२६को सिजनमा फेरेन्क हिर्जरले बनाएको रेकर्ड रोनाल्डोले तोड्न सक्छन्। युभेन्टसका लागि फेरेन्कले त्यस सिजनमा सम्पूर्ण प्रतियोगितामा ३५ गोल गरेका थिए।
लाजियोका सिरो इम्मोवाइल भन्दा एक गोल मात्र पछाडी रहेका रोनाल्डोले बाँकि खेलमा सिरी ‘ए’को जारी सिजनको शिर्ष गोलकर्ता बन्न सक्छन्। यसरी शिर्ष स्थानमा रहेर सिरी ‘ए’ गोल्डेन बुट जित्न सके एक दुर्लभ रेकर्ड बनाउनेछन्। उनी बेलायतको प्रिमियर लिग, स्पेनको ला-लिगा र इटालीको सिरी ‘ए’ गरी तिन लिगमा शिर्षगोलकर्ताहुने पहिलो खेलाडी बन्नेछन्।

