कक्षा १२ को परीक्षा असोजमा हुने !

काठमाडौँ – कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण स्थगित हुन पुगेको कक्षा १२ को परीक्षा आगामी असोजमा सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षा आगामी असोजको दोस्रो साताभित्रै सञ्चालन गरिनेछ। सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरिसकेको हुँदा कक्षा १२को परीक्षा आगामी असोजको दोस्रो साता भित्र सञ्चालन गर्ने तयारी गरिएको हो।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भदौ १ गते देखि विद्यालय भर्ना तथा परीक्षा सञ्चालन गर्न पाउने गरी निर्णय गरेसँगै राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ।

मन्त्रिपरिषद्ले भदौ १ गतेपछि परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेसँगै स्थगित भएको कक्षा १२ को परीक्षा आगामी असोजको पहिलो वा बढीमा दोस्रो सातामा सञ्चालन गर्ने तयारीमा आफूहरु जुटेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए।

कोरोना जोखिमक कारण सामाजिक दूरी कायम गर्नु पर्ने हुँदा परीक्षा केन्द्र थप गर्ने बोर्डको तयारी छ। कक्षा १२ का लागि देशभरि एक हजार १४७ परीक्षा केन्द्र कायम गरिएकोमा अब थप परीक्षा केन्द्रहरु निर्धारण हुनेछन्।

यस्तै कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने विषयमा नयाँ कार्यविधिलाई स्वीकृत भएको छ। स्वीकृत कार्यविधिअनुसार २०७६ सालको कक्षा ११ का विद्यार्थीले आगामी माघमा कक्षा १२ का लागि आवेदन फाराम भर्नुअघि विद्यालयले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा सम्मिलित भइसकेको हुनुपर्नेछ।

प्रकाशित : बुधबार, साउन ०७, २०७७११:११

रहेनन् राजेश हमालका भाइ राकेश हमाल …