काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले नामको पार्टी दर्ता भएको दावी गरेका छन्।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताएका हुन्।
नेकपा एमाले पार्टी दर्ता भएसंग नेकपाको एकता सङ्कटमा परेको उनको बताए। पार्टी भित्र विवाद चर्किएका बेला ओली पक्षले कार्यकर्ता उतारेपनि आफूहरुले भने संयमता अपनाएको प्रचण्डको भनाई छ।
“देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो”,आफूले पनि चाहेको भए मान्छे सडकमा उतार्न सक्ने संकेत गर्दै उनले भने। एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको प्रचण्डले स्पष्ट पारे।
प्रचण्डले बहुदलीय जनवादलाई आफूहरुले अस्वीकार नगरेको पनि दावी गरेका छन्। पार्टी भित्र देखिएको विवाद पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस रहेको प्रचण्डले स्पष्ट पारे।
यस्तै प्रचण्डले नयाँ नक्सा जारी हुनुमा एक व्यक्ति मात्रले जस लिन नहुने पनि बताएका छन्। देशका सबै पक्ष मिलेर नक्सा जारी गरेको हुँदा नयाँ नक्सा जारी हुनुमा कुनै व्यक्ति विशेषको मात्रै योगदान छ भनी दावी गर्नु उचित नहुने प्रचण्डको तर्क छ।
“नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो, पार्टीको सचिवालय बैठक हुँदाहुँदै प्रधानमन्त्रीले मुख्यसचिवलाई त्यो प्रसङ्ग थप्न लगाउनुभएको हो”,प्रचण्डले भने।

