सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाले ज्यान गुमाएका छन् । ज्यान जानेमा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्री छन्।
गएरातीको अविरल वर्षापछि करिब २ बजेतिर गएको पहिरोले उनीहरुको घर पुरेको थियो। गाउँपालिका अध्यक्ष टासी लामाले पहिरोबाट दुबैको शव निकालिएको जानकारी दिएका छन्।
गए राति नै मेलम्ची–११ मेलम्ची बजारमा पहिरो जाँदा आठ जना बेपत्ता भएका छन् ।
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो। निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।

