एजेन्सी – युरोपका शिर्ष फुटबल लिगहरु सकिएका छन्। कोरोनाका कारण रोकिएका सम्पूर्ण लिगहरु कोरोना संक्रमणकम भएपछि शुरु भएका थिए भने क्लोज स्टेडियममा सम्पन्न भए।

सन् २०१९-२० को प्रिमियर लिग लिभरपुलले जित्यो, इटालियन सिरी ए को च्याम्पियन युभेन्ट्स बन्यो । यस्तै स्पेनको ला-लिगामा गत वर्षको च्याम्पियन बार्सिलोनालाई पछि पार्दै रियल-म्याड्रिडले लिग जित्यो। फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बन्दा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि जित्यो।

यस वर्ष सिरी ‘ए’ टोली लाजियाका इटालियन फरवार्ड चिरो इम्मोबिलेले युरोपियन गोल्डेन बुट जित्न सफल भए। इम्मोबिलेले युरोपमा पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई तथा सिरी ‘ए’ मा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन युरोप र लिगमा गोल्डेन बुट जितेका हुन् ।
मेस्सी भर्सेस रोनाल्डो

सन् २०१९-२०को सिजनमा अन्य सिजनहरु जस्तै मेस्सी र रोनाल्डो चर्चामा रहेपनि व्यक्तिगत उपाधिमा दुवै खेलाडी चुके। युरोपियन गोल्डेन बुट जित्न यी दुवै खेलाडीले सकेनन्। रोनाल्डो इटालियन सिरी ए च्याम्पियन बन्दा मेस्सीको बार्सिलोनाले भने लालिगा रियल म्याड्रिडलाई सुम्पियो।
गोल

रोनाल्डो : ३१ / मेस्सी : २५
गोलको मामलामा यस सिजन रोनाल्डो अगाडी देखिए। सिरी ‘ए’मा रोनाल्डोले ३१ गोल गरेका थिए भने मेस्सीले लालिगामा २५ गोल गरेका थिए। युरोपियन गोल्डेन बुट दौडमा रोनाल्डो तेस्रो हुँदा मेस्सी छैठौ भए।
असिस्ट

रोनाल्डो : ५ / मेस्सी : २१
मेस्सी असिस्टको मामलामा प्राय रोनाल्डो भन्दा अगाडी नै हुन्छन्। मेस्सी असिस्टको मामलामा यस सिजन पनि अगाडी देखिए। मेस्सीले यस सिजनमा रोनाल्डोले भन्दा ४ गुणा बढी असिस्ट गरे। मेस्सीले २१ असिस्ट गर्दा रोनाल्डोको नाममा ५ असिस्ट मात्र छ।
ट्रफी

रोनाल्डो : १ / मेस्सी : ०
रोनाल्डोको युभेन्टसले लगातार नवौंपटक इटालियन सिरी ए को उपाधि जित्दा मेस्सीको बार्सिलोना भने ला-लिगा जित्नबाट बन्चित भयो। लिगको शिर्षस्थानमा रहेपनि लिग सुचारु भएपश्चात टोलिको प्रदर्शनमा आएको गिरावटले बार्सिलोनालाई लिग रियललाई सुम्पिन बाध्य बनायो।
म्याच अफ द म्याच

रोनाल्डो : १० / मेस्सी : २२
सन् २०१९-२०को सिजनमा दुवै खेलाडीले उच्चस्तरको खेल प्रदर्शन गरे। तर, म्याच अफ द म्याच बन्ने मामलामा भने रोनाल्डो मेस्सी भन्दा धेरै पछाडी देखिए। मेस्सी २२ पटक म्याच अफ द म्याच बन्दा रोनाल्डो १० पटक म्याच अफ द म्याच बने।

हुस्कोर्ड(WhoScored) का अनुसार तथ्यांकगत हिसाबमा सन् २०१९-२०को सिजनमा रोनाल्डो भन्दा मेस्सी अगाडी छन्।

