विज्ञहरुले ओलीलाई भने – “लकडाउन गर्नै पर्छ, कर्फ्यू लगाउन परेपनि पछि नहट्नुस्’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दै गएको कोरोना भाइरस संक्रमणका बारेमा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका हुन्।

छलफलका क्रममा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले देशमा बढिरहेको कोरोना संक्रमण प्रति चिन्ता व्यक्त गरेका छन्। समयमै गम्भीर नभए संक्रमणले थप गम्भीर अवस्था निम्त्याउन सक्ने हुँदा आवश्यक कदम चाल्न प्रधानमन्त्रीलाई विज्ञहरुको आग्रह छ।

संक्रमण बढ्दै गएका कारण लकडाउन आवश्यक भैसकेको विज्ञहरुको सुझाव छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने विज्ञहरुले चेतवानी दिएका छन्। आवश्यक परे कर्फ्यूसमेत लगाउन पर्ने सुझाव विज्ञहरुले दिएको बताइएको छ।

छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरु समेत सहभागी रहेका छन्।

परीक्षणको दायरा बढाउँदै महानगर

बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ ।

सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९७ जनाको पिसिआर परीक्षण गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। यही १४ गते वडा २८ मा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका व्यक्तिका एक जना घरधनी वडामा सेवा लिन आएपछि सङ्क्रमणको जोखिम बढेकाले परीक्षण गरिएको हो ।

त्यसैगरी वडा नं १४ मा पनि सर्लाहीबाट आएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सरकारले बन्दाबन्दी खोलेपछि पछिल्लो समय देशभरि नै कोरोना सङ्क्रमण बढिरहेको छ । वडा २७ मा सङ्क्रमितको सम्पर्कमा रहेका ३०२ जनाको साउन १३ गते कोरोना परीक्षण गराइएको थियो । परीक्षणका क्रममा २० दिनअघि भारतको सीतामढीबाट आएका एक महिलामा सङ्क्रमण पोजेटिभ देखिएको थियो । उनीबाट पहिले उनका भाइमा सङ्क्रमण सरेपछि उनीहरुको सम्पर्कमा रहेकालाई खोज्दै १५ जनालाई परीक्षण गरिएको थियो ।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७१०:२९

आज सबै भन्दा धेरै संक्रमित काठमाडौँमा भेटिए !