नेकपा विवाद झनै गिजोलिदै, ओलीको यस्तो स्पष्ट सन्देश !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद थप गिजोलिदै जान थालेको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीको राजिनामा स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले माग गरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको हो । सो विवाद मत्थर पार्न असार १६ गतेदेखी प्रयास भएपनि हालसम्म कुनै सहमतिको विन्दु फेला परेको छैन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

विवादलाई बरु दुई अध्यक्षले नै थप गिजोल्दै लग्न थालेका छन् । आपसी सम्बादलाई निरन्तर जारी राखेपनि दुई अध्यक्षका सार्वजनिक भएका भनाई भने परस्पर विरोधी देखिन थालेका छन् । प्रधानमन्त्री ओली सचिवालय बैठक पहिला बस्नुपर्ने अडानमा छन् । दाहाल भने पहिला स्थायी कमिटी बैठक गरेर केन्द्रीय कमिटी बैठकमा जानुपर्ने अडानमा उभिएका छन् । जसले गर्दा दुई अध्यक्षबीच सहमित जुट्न नसकेको नेताहरुले बताएका छन् ।

वार्ता चलिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले कोरोना महामारीका बीचमा केन्द्रीय कमिटी बैठक बस्न नसक्ने स्पष्ट पारेका छन् । विज्ञसँगको छलफलमा उनले ४५० जनाको केन्द्रीय कमिटी बैठक कसरी बस्ने भन्नेमा प्रश्न उठाएका छन् । सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय कमिटी बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जनाएका छन् ।

‘केही मानिस, केही माध्यम र केही संस्थाहरूमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ । तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केहीपनि छैन’, प्रधानमन्त्री ओलीले भने । उनले केन्द्रीय कमिटी बैठक तत्काल नबोलाउने स्पष्ट सन्देश दिएका छन् ।

अध्यक्ष ओलीको स्पष्ट सन्देशपछि नेकपामा विवाद थप पेचिलो बन्दै जाने देखिएको छ । मंगलबारसम्मको अवस्था हेर्दा सचिवालय बैठकमा ओली बहुमतमा छन् भने स्थायी कमिटीमा को बहुमतमा छ भन्ने अवस्था छैन । केन्द्रीय कमिटीमा भने दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल बहुमतमा छन् । जसले गर्दा एकले अर्को पक्षलाई गलाउन आफु अनुकुलको बैठकमा जान जोडबल गरिरहेका छन् । जसले गर्दा विवाद समाधानतर्फ अगाडी बढेपनि कसरी जाने भन्नेमा अन्यौल छ ।

मंगलबारको भेट अगाडी भने अध्यक्ष दाहालले ६ बुँदे प्रस्ताव राख्ने उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् । ओलीलाई पाँच वर्ष प्रधानमन्त्री र महाधिवेशन अगाडीसम्म अध्यक्ष बनाउनुपर्ने प्रस्ताव ल्याएपछि दाहाल दवावमा रहेको नेताहरुले बताएका छन् । सो प्रस्तावलाई पूर्वमाओवादीकै कतिपय नेताले समेत समर्थन गरेपछि नेकपाको विवाद झनै चर्किएको छ ।

गौतम निवास भैसेपाटीमा भएको छलफलमा अध्यक्ष दाहालले प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । उनले विगतको सहमतिबाट पछाडी नहट्न आग्रह गरेको बताइएको छ । तर, गौतमले यो प्रस्ताव आफुले कुनै व्यक्तिका लागि नभई पार्टीको एकता जोगाईराख्नका लागि ल्याएको स्पष्ट पारेका छन् । उनले यही प्रस्तावको वरिपरि रहेर सहमति खोज्न पनि अध्यक्ष दाहालसँग आग्रह गरेको स्रोतले बताएको छ । मंगलबारको दुई अध्यक्षको भेटमा कुनै सहमति नभएपनि बुधबार पुनः बस्ने भन्दै बाहिरिएको नेताहरुले बताएका छन् ।

प्रकाशित : बुधबार, साउन २१, २०७७०३:०८

कोरोनाको चपेटामा राजधानी: असावधानीले जोखिम निक्कै उच्च !