काठमाडौँ-हेटौंडा जोड्ने कान्ति लोकपथमा पहिरो !

ललितपुर – काठमाडौँदेखि हेटौंदा जोड्ने छोटो दूरीको कान्ति लोकपथको ठाउँठाउँमा पहिरो गएको छ । यही साउन १९ गतेदेखि आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि वाग्मती गाउँपालिका–७ गिम्दीसम्मको मुख्य सडक अवरुद्ध भएको हो ।

टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकको ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी दीपक घिमिरेले बताए। उनले भने, “हामीले चारपाँचवटा स्काभेटर लगाएर बाटो पन्छाउँदा पनि माटो फाल्न सकेका छैनौँ, यहाँको १० ठाउँमा पहिराले असर गरेको छ, वाग्मतीबाट दैनिक रुपमा ढुवानी हुने पाँचदेखि ७०० लिटर दूध र तीनदेखि चार गाडी तरकारीसमेत किसानले बजारीकरण गर्न पाएका छैनन् ।” कान्ति लोकपथ सडक ठाउँठाउँमा पहिराले बिजुलीका पोल ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीय वञ्चित भइरहेका घिमिरेले जानकारी गराए।

यसैगरी पहिरो र वर्षाका कारण टीकाभैरवदेखि गिम्दीसम्म लगभग ७० किलोमिटर मुख्य सडक नै अवरुद्ध भइरहेको बिहिबारमात्रै त्यस खण्डबाट गोदावरी–१३ झरुवारासी फर्किएका यात्री सन्तोष दाहालले बताए। वाग्मती–३ भट्टेडाँडास्थित भालुखोला, झाँक्रीडाँडा र छपेली, वडा नं ६ आश्राङस्थित रुम्बा र घिसिङमा ठूलो पहिरो गएर मुख्य सडक नै अवरुद्ध भइरहेको अर्का यात्री प्रकाश थिङले बताए।

कान्ति लोकपथ राष्ट्रिय राजमार्गअन्तर्गतको सडकमा पर्दछ । करिब ९० किलोमिटर रहेको सो सडकमध्ये ललितपुरतर्फ ३९ र मकवानपुरतर्फ ५१ किलोमिटर छ । सो सडकको मर्मतसम्भार, पर्खाल लगाउने र कालोपत्र गर्ने काम भने कतै समाप्त त कतै हुन बाँकी नै रहेको थियो ।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७०७:५६

चिनिया सरकारले राजमार्गमा पर्ने घरलाई बीचमा राखेर पुल बनाएपछि, भिडियो भाइरल!