युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत शुक्रबार रातीको खेलमा विश्व फुटबलका दुई महारथी स्पेनिस क्लब बार्सिलोना र जर्मन च्याम्पियन बार्यन म्युनिख भिड्दै छन्। शुक्रबार राति नेपाली समय अनुसार १२:४५ मा हुने खेलमा जित हात पार्ने टोली सेमी-फाइनलमा प्रवेश गर्नेछ।
कोरोना भाइरस महामारीको कारण रोकिएको प्रतियोगिता यसै साता मात्र फर्केको हो। क्वाटरफाइनल देखिका सम्पूर्ण खेलहरु एक लेगमै सम्पन्न हुने भएकोले प्रतियोगितामा अगाडि बढ्न आजको खेल जित्नै पर्नेछ।
यो सिजन उत्कृष्ट लयमा रहेको बार्यन आजको खेल जित्दै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा हुनेछ भने बार्सिलोना पनि उत्कृष्ट प्रदर्शन गर्दै बार्यनलाई रोक्ने प्रयासमा मैदान उत्रनेछ। लगातार आठौँ पटक जर्मन बुन्डेसलिगा जितेको बार्यनलाई प्राय:ले प्रतियोगिता जित्ने प्रवल दाबेदार मानेका छन्। घरेलु लिगमा खराब प्रदर्शनका बाबजुद बार्सिलोनालाई पनि दाबेदारको रूपमा हेरिएको छ। प्रतियोगिताका अपराजित रहेका दुबै टोली आजको खेल पनि जित्दै आफ्नो अपराजित यात्रा कायम राख्ने दाउमा हुनेछन्।
एक तर्फ बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई रोक्न बार्यनले निकै संघर्ष गर्नु पर्ने देखिन्छ भने अर्को तर्फ आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा रहेका रोर्बट लेवान्डोस्की बार्सिलोनाको टाउको दुखाई बन्न सक्छन्। हालसम्म प्रतियोगितामा भएका सबै खेलमा गोल गरेका लेवान्डोस्कीलाई रोक्नु आजको खेलमा बार्सिलोनाको रक्षापंक्तिको मुख्य चुनौती हुनेछ। टोलीको प्रदर्शन खस नभए पनि कप्तान लियोनल मेस्सीको प्रदर्शन भने सम्झन लायक रहेको छ।
अहिले सम्म समान ५-५ पटक उपाधि जितेका दुबै टोली आफ्नो छैठौँ च्याम्पियन्स लिग उपाधिको पर्खाइमा छन्। सन् २०१४-१५ सिजनमा भएको दुई टोली बीच भएको अन्तिम भिडन्तमा बार्सिलोनाले समग्रमा ५-३ को जित निकाएको थियो। यी दुई बीचको बिजेताले सेमी-फाइनलमा शनिबार राति हुने म्यानचेस्टर सिटी र लियोन बीचको बिजेतासँग फाइनल प्रवेशको लागि भिड्नेछ।