लण्डन । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसंग हारपछि बार्सिलोनाको भविष्यलाई लिएर धेरै प्रश्न उठेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
डिफेण्डर जेरार्ड पिकेले क्याम्पनोउमा परिवर्तन हुनुपर्ने बताएका छन् र टोलीमा उमेर ढल्केका खेलाडी रहेकाले खेलाडीतर्फ धेरैको औंला तेर्सिएको छ । ‘कोही पनि अपरिहार्य छैन’ पिकेले भनेका छन् ।
कप्तान लिओनल मेसीसहित आधा दर्जन बढी खेलाडी ३० वर्षभन्दा माथिका छन् । स्पेनिस अनलाइन मार्काले उमेर ढल्केका खेलाडीहरु को को ले छाड्न सक्छन् भनेर एक सामग्री तयार पारेको छ ।
जेरार्ड पिके
यी सेन्टर ब्याकले यदि बार्सिलोनमा ऊर्जावान खेलाडी आएमा क्लब छाड्न तयार रहेको प्रतिक्रिया दिएका थिए । १२ वर्षपछि पनि पिके अझै क्लबमा उत्कृष्ट डिफेण्डरको रुपमा छन् । उनले यस सिजन ४५ खेल खेले ।
३३ वर्षीय पिकेको क्याम्प नोउनमा अझै २ वर्षको सम्झौता बाँकी छ । उनको रिलिज मूल्य ५०० मिलियन युरो रहेको छ ।
जोर्दी अल्वा
यी लेफ्ट ब्याक हाल उत्कृष्ट लयमा छैनन् । बायर्न म्युनिखविरुद्ध पनि उनको प्रदर्शन राम्रो हुन सकेन । उनी सन् २०१२ को समरमा बार्सिलोना आएका थिए । त्यसयता उनी पहिलो रोजाइका लेफ्ट ब्याकको रुपमा छन् र यस सिजन उनले ३६ खेल खेले । ३१ वर्षीय अल्वाले आफ्नो सम्झौता २०२४ सम्म लम्ब्याएका छन् र उनको पनि रिलिज मूल्य ५०० मिलियन युरो छ ।
सर्जियो बुस्केट
यी होल्डिङ मिडफिल्डरले सन् २००८ मा पेप ग्वार्डिओला प्रशिक्षक रहँदाटिममा स्थान बनाएका थिए । त्यसयता उनले उक्त पोजिसनलाई निरन्तरता दिएका छन् । केही सिजनयता बुस्केट उस्तै लयमा छैनन् । तर उनी पहिलो रोजाइमा निरन्तर छन् । यस सिजन उनले ४१ खेल खेले ।
३२ वर्षीय यी खेलाडीको सम्झौता बार्सिलोनामा २०२३ सम्म छ । उनको रिलिज मृूल्य ५०० मिलियन युरो रहेको छ ।
इभान राकिटिक
राकिटिकको क्लबमा सम्झौता एक वर्ष बाँकी छ । तर यी क्रोएसियन खेलाडीले समरमा बार्सा छाड्ने धेरै चर्चा भइरहेको छ ।
३२ वर्षीय यी खेलाडीले बायर्नविरुद्ध खेलेनन् । तर उनले यस सिजन ४२ खेल खेले । बार्सिलोनाले राकिटिकका लागि नयाँ क्लब खोज्न प्रयास गरिरहेको छ ।
अर्टुरो भिदाला
राकिटिक जस्तै भिदालको सम्झौता क्याम्पनोउमा २०२१ सम्म छ । ३३ वर्षीय भिदालले क्लबमा आएपछि लिओनल मेसी र लुइस सुअरेजसंग राम्रोसंग तालमेल मिलाएका छन् । उनले यस सिजन ४३ खेल खेले ।
यद्यपी उनले अर्को समरमा त्यत्तिकै क्लब छाड्नुभन्दा बार्सिलोना यी खेलाडीबाट पैसा कमाउन चाहन्छ ।
लुइस सुआरेज
लुइस सुआरेज फिट हुँदा क्लबको पहिलो रोजाइमा नै हुन्छन् । यद्यपि पछिल्लो समय यी ३३ वर्षीय स्ट्राइकरले चोटका कारण खेल्न सकेका छैनन् । उरुग्वेका सुआरेजसँगको सम्झौता अर्को समरसम्म छ । यदि उनले अर्को सिजन बार्सिलोनाका लागि ६० प्रतिशत खेल खेलेमा उनको सम्झौता स्वतस् लम्बिनेछ ।
लिओनल मेसी
अर्जेन्टाइन मेसी यस सिजन बार्सिलोनाको उत्कृष्ट खेलाडीको रुपमा रहे । उनीसँगको सम्झौता अर्को समरमा सकिँदैछ । मेसीको रिलिज मूल्य ७०० मिलियन युरो छ । अहिलेकै अवस्थामा त बार्सिलोनाको समर्थकहरु उनले क्लब छाडेको सोच्न पनि सक्दैनन् ।
३३ वर्षीय मेसीले यस सिजन बार्सिलोनाका लागि ४४ खेल खेल्दै ३१ गोल गरेका छन् ।