च्याम्पियन्स लिगमा पीएसजी भर्सेस आर.बी लेप्जिंग ! कसले मार्ला बाजी ?

आजबाट च्याम्पियन्स लिगको सेमी-फाइनल चरणका खेल सुरु हुँदै छन्। कोरोना भाइरसको कारण प्रभावित भएको प्रतियोगिताका क्वाटरफाइनल देखिका खेल एक लेगमै भैरहेका छन्। सेमी-फाइनलका खेल पनि सिंगल लेगमै हुनेछ।

आज राती नेपाली समय अनुसार १२:४५ मा हुने खेलमा फ्रेन्च च्याम्पियन पी.एस.जी र जर्मन क्लब आर.बी. लेप्जिंग फाइनल प्रवेशको लागि एक-आपसमा भिड्दै छन्। पी.एस.जीले इटालियन क्लब एटालान्टा पराजित गर्दै सेमी-फाइनलको यात्रा तय गरेको हो भने लेप्जिंगले अघिल्लो चरणमा स्पेनिस महारथी एथलेटिको म्याड्रिडलाई हराउँदै पी.एस.जीसंगको भेट पक्का गरेको थियो।

अन्तिम समय १९९४ मा सेमी-फाइनल खेलेको पी.एस.जी यो खेल जित्दै पहिलो पटक फाइनलमा प्रवेश गर्ने दाउमा रहेको छ भने पहिलो पटक सेमी-फाइनलमा पुगेको लेप्जिंग आफ्नो उत्कृष्ट यात्रा कायम राख्ने दाउमा मैदानमा उत्रिने छ।

नेइमार र एम्बाप्पे भर्सेस डायोट उपामेकानो


चोटबाट फर्किएपछि उत्कृष्ट लयमा रहेका नेइमारलाई रोक्नु लेप्जिंगको टाउको दुखाईको विषय बन्न सक्छ। त्यस्तै, यस सिजन फ्रेन्च लिगको गोल्डेन बूट विजेता युवा सेन्सेसन किलियन एम्बापे पनि लेप्जिंगको लागि खतरनाक साबित हुनसक्छन्।

त्यस्तै युवा खेलाडीले भरिपूर्ण टोली लेप्जिंगका २१ वर्षीय स्टार डिफेन्डर डायोट उपामेकानोमा सबैको नजर रहनेछ। यो खेल नेइमार र एम्बाप्पे र उपामेकानो बीचको ब्याटलको रुपमा पनि हेरिएको छ। साथै पी.एस.जीको साथमा एंगल डी मारिया, माउरो इकार्डी,मार्को भेराटी, थियेगो शिल्भा जस्ता स्टार खेलाडी हुनेछन् भने लेप्जिंगको साथमा सन्तुलित टोली र युवा जोस हुनेछ।

आजको खेलको विजेताले फाइनलमा बुधबार राती हुने बार्यन म्युनिख र लियोन बीचको विजेतासंग २४ अगस्टमा उपाधिको लागि भिड्नेछ।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७१२:२९

नेयमारले च्याम्पियन्स लिग फाइनल गुमाउन सक्ने !