नेयमारले च्याम्पियन्स लिग फाइनल गुमाउन सक्ने !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले युइएफए च्याम्पियन्स लिगको फाइनल खेल गुमाउन सक्ने सम्भावना बढेको छ ।

सेमिफाइनलमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ३–० को जित निकालेको खेलमा नेयमारले कोरोना भाइरस (कोभिड–१९) को नियम विपरित विपक्षी टोलीका खेलाडीसँग जर्सी साटासट गरेपछि फाइनल गुमाउने सम्भावना बढेको हो । यस विषयमा युइएफएले निर्णय गर्न सक्नेछ ।

कोरोनापछि सुचारु भएको फुटबलको नियममा एक अर्का खेलाडीबीच अंकमालका साथै जर्सी साटासाट गर्न नपाइने बताइएको छ । नियमअनुसार खेलाडीले नियम उल्लंघन गरे एक खेलको प्रतिबन्ध र करिव १२ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ । खेलपछि नेयमारले लाइप्जिगका मार्सेल हल्सटेनबर्गसँग जर्सी साटासाट गरेका थिए ।

पहिलोपटक फाइनल प्रवेश गरेको पीएसजीले उपाधिका लागि आइतबार बायर्न म्युनिख वा लियोनबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल आज राति हुदैछ ।

मंगलबार राति लाइप्जिगविरुद्धको जितमा मार्किन्हस, एन्जल डि मारिया र जुवान बर्नाटले गोल गरे । लाइप्जिगविरुद्ध उच्च प्रदर्शन गरेपनि नेयमारले गोल गर्न असमर्थ रहेपनि दोस्रो गोलको लागि असिस्ट दिएका थिए । नेयमारले लगातार लाइप्जिगको डिफेन्स लाइनलाई व्यस्त बनाएका थिए ।

नेयमारले च्याम्पियन्स लिगको पछिल्लो ६ खेलमा ३ गोल गर्नुका साथै चार गोलका लागि असिस्ट दिएका छन् । प्रतिबन्धमा परे पीएसजीलाई नेयमारको अभाव खड्कन सक्नेछ ।

प्रकाशित : बुधबार, भदौ ०३, २०७७१०:५०

बार्यन र लियोन भिड्दै !