काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार राष्ट्रकवि घिमिरेको लैनचौर स्थित निजि निवासमा निधन भएको हो।
स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचाररत घिमिरेको मंगलबार निधन भएको उनका छोरी डा. किरण रेग्मीले जानकारी गराएका छन्।
स्वासपश्वासमा समस्या रहेका कारण अस्पतालमा उपचार गरिएपनि उनले घरमै रहने इच्छा गरेपछि घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नारीको धड्कनमा पनि समस्या समस्या देखिएको बताइएको छ।
आउने असोज महिनामा १०२ वर्ष उमेर पुग्दै गरेका उनको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो। घिमिरे १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका थिए।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’; ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल) जस्ता गीतका रचनाकार पनि घिमिरे नै हुन्।