‘१५ हजार ऋण ५ वर्ष श्रम गर्दा नि तिर्न सकिन !’

लहान । युवाहरुलाई भारत लैजाने भन्दै ऋण दिने र चक्रिय ब्याज जोडेर कयौं गुणा बढि असुल्ने गरेको भन्दै जनता समाजबादी पार्टी (जसपा)का एक नेताविरुद्ध पिडितहरुले उजुरी दिएका छन् । सर्लाहीका श्याम परेदेशीको जस्तैगरी ऋण दिने र उठाउने शिवजी यादवका विरुद्ध पिडितहरुले जिल्ला प्रशासन कार्यालय सिहरामा उजुरी दर्ता गराएका छन् ।

उनले पहिला केही हजार ऋण दिने र त्यसलाई लाखौं बनाएर ऋणीले तिर्न नसकेपछि भारतको पञ्जाबमा रोजगारी लगाइदिने भन्दै युवाहरुलाई लैजाने गरेका थिए । रोजगारीमा लगाएपछि त्यहाबाट आउने पारिश्रमिक पनि उनले नै वर्षौसम्म लिने गरेको खुलासा समेत भएको छ । सिरहाको औरही गाउँपालिका–५ निवासी यादवले विभिन्न गाउँका विपन्न मुसहर समुदायलाई चक्रीय ब्याजमा ऋण दिने र ऋण तिर्न नसक्नेलाई पञ्जाबमा लगेर काममा लगाउने तथा उनीहरुको पारिश्रमिक आफैले लिने गरेका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

औरही गाँउपालिकाको जसपा अध्यक्ष समेत रहेका उनले मुसहर समुदायलाई ५÷१० हजार रुपैयाँ ऋण दिने गरेका थिए । तर, पढलेख गर्न नजान्ने उनिहरुलाई कागजमा भने लाखौं रुपैयाँ ऋण देखाउने गरेका थिए । ऋण तिर्न नसक्ने भयो तिमीहरुले भन्दै उनले नै युवा र परिवारका काम गर्न सक्ने मान्छेलाई रोजगारीका लागि पञ्जाबमा लैजान्थ्ये । त्यहा लगेपछि साहुसँग मिलेर उनिहरुको पारिश्रमिक बर्षौंसम्म लिने गरेका थिए । वर्षौंसम्म मेहनत गरेको रकम पनि नपाउने र ऋण पनि चुक्ता नहुने भएपछि उनिहरु रित्तो हात घर फर्किन बाध्य हुन्थ्ये ।

यादवको ऋणको पासो त्यत्तिमा मात्रै सिमित हुदैन थियो । पिडितहरुका अनुसार उनले ऋण चुक्ता नभएको भन्दै ऋणीको घरमा गएर गाईवस्तु खोलेर ल्याउने, घरखेत कब्जा गर्नेजस्ता ज्यादति गर्दै आएको बताउँछन् । पीडितका अनुसार दैनिक ज्यालादारी काम गरेर परिवारको जीविकोपार्जन गर्दै आएका युवालाई पञ्जाब लैजानु अघि त्यस्ता युवाको परिवारका लागि घरखर्चको जोहो गरिदिने क्रममा उनले ऋण लगानी गर्दछन् ।

युवाहरुलाई पञ्जाब लैजाने र रोजगारदाताले यादवलाई नै ती श्रमिकको पारिश्रमिक दिने गरेका थिए । अहिले पैसा दियो भने तिमीहरुले खर्च गरेर सक्छौ भनेर उनी आफैले सबैको पारिश्रमिक लिएर राख्ने गरेपनि घर फर्किसक्दा समेत त्यो रकम आफूहरुले नपाएको भन्दै पीडितको समूहले न्यायका लागि स्थानीय प्रशासन गुहारेका हुन् । कतिपयले त्यहाँ कमाएको पैसाले पनि ऋण चुक्ता नभएपछि खेतबारी बेचेर ऋण तिर्ने गरेको औरही गाउँपालिका इट्टाटारका स्थानीय कवुली पासवानले बताए ।

नेतीलाल सदाले आफू पञ्जाव जानुअघि घरखर्चका लागि शिवजी यादवबाट १५ हजार रुपैयाँ लिएका थिए । पाँच वर्षसम्म काम गरे पनि त्यो रकम अझै चुक्ता गर्न नसकिएको उनको भनाइ छ । उनले भने, ‘जति कमाएको थिएँ, सबै उहाँलाई नै दिएँ, तै पनि अझै चुक्ता भएको छैन भनेर वर्षेनि तमसुक बनाउँदै आइरहनु भएको छ ।’ आफूले काम गरेको सम्पूर्ण रकम र बुवाआमाले समेत ४० हजार रुपैयाँ तिर्दा समेत १५ हजार रुपैयाँको सावाँब्याज चुक्ता नभएको भन्दै शिवजीले अझै असुलउपर गराउन खोजेको उनको भनाइ छ ।

कलेश्वर सदाले आफ्नो छोरालाई पाँच वर्षदेखि शिवजीले श्रमका लागि लगेको बताए । ‘अहिलेसम्म पनि ऋण चुक्ता भइसकेको छैन भनेर उसले उतै काम गरिरहेको छ,’ उनले भने, ‘ऋण चुक्ता नगरी घर फर्कन नमिल्ने भयो भनेर बेलाबेलामा भन्ने गर्छ ।’ यतिन्जेलसम्म पनि छोराले घरमा पैसा नपठाएको र ऋण पनि चुक्ता गर्न नसकेको उनले सुनाए । ‘कमाएको जनि साहु (शिवजी)लाई नै बुझाउँदै आए पनि चुक्ता भएको छैन,’ उनले भने ।

नेतीलाल, कलेश्वर सदाको मात्रै होइन, औरही गाउँ वरपर पिप्रा, हरकट्टी, करहरवा, जमुवा, खजनपुर, इट्टाटर, दह्रैया, वरियारपट्टी लगायतका गाउँका सैयौं मुसहरलगायत अन्य समुदायका युवालाई शिवजी यादवले गरेको शोषणको कथा डरलाग्दो छ । जसपा नेता यादवका अत्याचारका कारण महेश सदाका बुवाको मृत्यु पनि भएको छ । पञ्जावमा यादवको ज्यादति सहन नसकेपछि सदा भागेर घर फर्केका थिए । नेपाल फर्केको थाहा पाएपछि यादव उनको घरमै पुगेर कुटपिट गर्नुका साथै बन्धक बनाएका थिए । त्यसैको शोकमा उनका बुवाको निधन भएको कवुली पासवानले बताए ।

शिवजी यादवको ज्यादतिको विरुद्ध महेश दास, फुलोदेवी सदा, रामचन्द्र सदाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । रामचन्द्र सदाले भने, ‘शिवजी यादवको ज्यादति सहन नसकेर उजुरी गरेका हौं, हामीलाई विश्वास छ कि उहाँमाथि राज्यले कारवाही गर्नेछ ।’ गाउँ गाउँबाट सयौँ निमुखा मुसहर युवाहरुलाई पञ्जाबमा लगेर काममा लगाउने ठेकेदारका रुपमा उनले पञ्जाबका रोजगारदाताबाट कमिशन लिन्छन् । श्रमका लागि पञ्जाब लगिएका युवाका परिवारलाई दुई÷चार हजार रुपैयाँ घर खर्चका लागि लगानी गर्ने र उनीहरुको गरिबीको फाइदा उठाउँदै तमसुकमा रकम थपेर ब्याज असुल्ने धन्दामा उनी वर्षौँदेखि सक्रिय रहँदै आएको स्थानीयवासी बताउँछन् ।

यसरी नै उनी सयौँलाई शोषण गरेर करोडपति भएका छन् । आफ्नो करतुतलाई ढाकछोप गर्न उनी राजनीतिक रुपमा पनि सक्रिय छन् । पैसाकै बलमा उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा टिकट हात पारेका थिए । यद्यपि उनी ६ मतले पराजित भए । सधै ठेक्का पट्टा गर्ने शिवजी यादवले अहिलेका प्रदेश–२ का अर्थमन्त्री विजय यादवलाई रकम दिएर टिकट खरिद गरेको आरोप समेत लाग्दै आएको छ ।

धर्मकर्ममा समेत विश्वास गर्ने उनले औरही गाउँपालिकामा भएको गायत्री यज्ञका लागि लाखौ रुपैयाँ चन्दा उठाएका थिए । नेपाल र भारतमा गरी उनले उठाएका रकमको हिसाब किताब माग्दा चन्दा रसिदको अधकट्टी नै हराएको भन्दै १४ लाख रुपैयाँ हिनामिना गरेको आरोप पनि छ । यसैगरी उनिमाथी आगलागी पीडितका लागि संकलन गरेको चन्दा, मन्दिर बनाउन उठाएको चन्दा हिनामिना गरेको आरोप समेत लाग्दै आएको छ । आफ्नो विरोधीलाई उनले गुण्डा परिचालन गरी कुटपिट गर्ने गरेको स्थानीयबासीको भनाई छ ।

प्रकाशित : बुधबार, भदौ १०, २०७७०३:१७

विदेशबाट नेपाल आउन सर्तै सर्त !