काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या साढे ३५ हजार नाघेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि केन्द्रित हुनुपर्ने सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी भने चार महिनादेखिको आन्तरिक विवाद समाधान गर्ने कसरतमा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनअनुसार अगाडि बढ्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटेसँगै भदौ १३ गते बस्ने सचिवालय बैठकले औपचारिकरुपमा विवादको अन्त्य भएको निर्णय गर्नेछ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्नतिरभन्दा पनि पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न बढी समय खर्च गर्नुभयो । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले चार महिना लकडाउन नगरेको पनि होइन । तर नागरिकहरुबाटै लकडाउन खुला गर्नुपर्ने दबाब बढेपछि चार महिना लकडाउन लगाएर सरकारले खुला गर्ने निर्णय ग¥यो । लकडाउन खुला भएसँगै संक्रमितको संख्या दैनिकरुपमा ह्वात्तै बढ्ने अवस्था सृजना भयो । सरकारले अहिले सीधै लकडाउन त भनिहालेको छैन । तर प्रमुख जिल्ला अधिकारीमार्फत निषेधाज्ञा घोषणा गरेर अघोषित लकडाउन भने पुनः शुरु गरेको छ ।
नागरिकहरु कोरोनासँग लडिरहेको बेला सत्तारूढ दल नेकपा भने पुनः मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा जुटेको छ । नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन, प्रदेशका मुख्यमन्त्रीहरु हेरफेर र राजनीतिक र संवैधानिक नियुक्ति गर्दा पार्टीभित्र सहमति जुटाएरै गर्ने सुझाव दिएको छ । कार्यदलको सुझावअुनसार दुई वर्षको अवधिमा मन्त्रीहरुको कामको मूल्याङ्कन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ ।