काठमाडौँ – विद्यालयभित्र तास खेलिरहेको अवस्थामा प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले खैरहनी नगरपालिकाबाट पक्राउ गरेको छ।
कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले घरभित्रै रहन प्रशासनले गरेपनि प्रधानाध्यापकसहित ११ जना विद्यालयभित्र तास खेल्दै गरेको पाइएसँगै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय खैरहनी उनीहरुलाई बिहीबार दिउँसो १ बजे आसपासको समयमा पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद समेत गरेको छ।
पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् भने उनीहरु माथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने छ।