नेयमार र मेस्सी बीच कुराकानी: मेस्सी पीएसजी जान लागेका हुन् ?

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फुटबलरले लियोनेल मेस्सी बारे चासो व्यक्त गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरिसकेको खबर बाहिरिएसँगै नेयमारले त्यस सम्बन्धमा चासो व्यक्त गरेको र मेस्सीसँग फोनमै कुरा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुको दावी छ।

नेयमारले फोनमा मेस्सीसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) आउने सम्भावना बारे छलफल गरेको बताइएको छ। मेस्सीको बार्सिलोना छाड्ने निर्णयसँगै अहिले विश्वका ठूला-ठूला क्लबको ध्यान मेस्सी तर्फ केन्द्रित भइरहेको छ। मेस्सी माथि चासो राखिरहेको क्लब मध्ये पीएसजी पनि एक हो।

प्रकाशनमा आए अनुसार नेयमारले मेस्सीसँग बिहिबार फोनमा कुरा गरेका हुन्। फोनमा उनले मेस्सी पीएसजी आए आफूहरुले धेरै कुरा गर्न सक्ने बताएको बुझिएको छ।

पीएसजीका अर्का खेलाडी तथा मेस्सीका अर्जेन्टिनी सहकर्मी एन्जेल डि मारियाले पनि मेस्सीसँग कुराकानी गरेको बताइएको छ। मारियाले मेस्सीसँग उनको भविष्य बारे चासो व्यक्त गरेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

मेस्सीको ‘ट्रान्सफर फि’ उच्च रहने हुँदा तत्काल ट्रान्सफर नहुने बताइएपनि असम्भव भने देखिँदैन। पीएसजीले पछिल्लो समय क्लबका विभिन्न खेलाडीहरुलाई बिदा गरिसकेको छ। साथै कतारी लगानी रहेको हुँदा पीएसजी महँगा भन्दा महँगा खेलाडी भित्र्याउन सक्षम देखिन्छ।

सन् २०१७मा पीएसजी पुगेयता नेयमार मेस्सीसँगको पुनर्मिलनलाई लिएर आतुर छन्। गत वर्ष देखि नै उनी बार्सिलोना पुगेर मेस्सीसँग पुनः खेल्ने योजना सहित अगाडी बढेका थिए। तर, मेस्सीले नै बार्सिलोना छाड्ने भएपछि नेयमार बार्सिलोना जाने सम्भावना भने कम भएको छ।

प्रकाशित : शनिबार, भदौ १३, २०७७०५:४१

मेस्सी युभेन्टस जान सक्ने !