काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढेपछि स्थानीय प्रशासनले भदौ ४ गतेबाट निषेधाज्ञा जारी गरेको छ । सरकारले साउन ७ गतेबाट लकडाउन खोलेपछि अनियन्त्रित र बिना जाँच राजधानी भित्रिएकाबाट शुरु भएको संक्रमण तिव्र गतिमा फैलिएपछि स्थानीय प्रशासनले उपत्यकामा निषेधाज्ञा लगाएका हुन् । उपत्यकाका तीनै वटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा लकडाउन लगाएको शनिवार १० दिन पुगेपनि संक्रमितको संख्या झनै बढ्दै गएको छ ।
भदौ ४ गतेदेखी १४ गतेसम्म उपत्यकामा दुई हजार ३९९ संक्रमित फेला परेका छन् । निषेधाज्ञाको अगाडी भन्दा यसबिचमा भेटिने संक्रमितको संख्याले दैनिक रेकर्ड राख्दै आएको छ । शनिवार १८६, शुक्रबार ४१५, विहिवार ३७७, बुधबार ३०१ जना भेटिएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
पछिल्ला केही दिन यता शनिवार सबैभन्दा कम संक्रमित भेटिएका छन् । शनिवार उपत्यकामा १८६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित भेटिएका छन् । यसअघि भदौ ७ गते १६६ र ५ गते १८२ जना भेटिएका थिए । शनिवारसम्म उपत्यकामा ४ हजार ४८३ सक्रिय संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा ३ हजार ५६०, ललितपुरमा ५४६ र भक्तपुरमा ३७७ रहेका छन् ।
शनिवार संक्रमित पहिलाको तुलनामा केही कम भेटिएपनि जोखिम निक्कै धेरै रहेको विज्ञहरुले बताएका छन् । विज्ञहरूले उपत्यकामा भित्रभित्रै फैलिसकेकाले संक्रमण तीव्र देखिएको र आगामी दिनमा झन् बढ्न सक्ने चेतावनी दिएका छन् । ‘अहिले स्थानीय काठमाडौंवासीमै बढी संक्रमण देखिन थालिएको छ, धेरैजसो संक्रमितको यात्रा इतिहास छैन’, स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘अन्य ठाउँभन्दा संक्रमणको दृष्टिले काठमाडौं बढी जोखिममा देखिएको छ ।’
स्थानीयबासीमा देखिएको अटेरीपन, लकडाउन नहुँदा सामाजिक दुरी कम र मास्क नलगाउने र लगाएपनि ठिक तरिकाले नलगाउने तथा सरकारले पनि त्यसबेला आवश्यक तयारी नगर्दा यस्तो भयावह अवस्था आएको विज्ञहरुको भनाई छ । लकडाउन वा निषेधाज्ञाका बेला सरकारले परीक्षणलाई धेरै भन्दा धेरै बढाएर संक्रमितहरुलाई आइसोलेसनमा राख्नुपर्ने उनिहरुले सुझाव दिएका छन् ।
निषेधाज्ञाको १० दिनमा संक्रमित पहिचानका लागि महत्वपूर्ण मानिने कन्ट्याक्ट ट्रेसिङ अझै प्रभावकारी छैन भने समुदाय स्तरमा परीक्षण पनि सुरु गरिएको छैन । स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ तत्कालै गर्ने भनेर टोली गठन गरेको जनाएपनि त्यसले प्रभावकारी काम गर्न सकेको देखिएको छैन । कन्ट्याक्ट ट्रेसिङका लागि प्रत्येक गाउँपालिकाले १, नगरपालिकाले २ र महानगरपालिकाले ५ वटा टिम पनि बनाएका छन् । काठमाडौं महानगरपालिकाले भने १० वटा टोली बनाएको छ । हरेक टिकमा पारामेडिक्ससहित जम्मा तीन जना हुन्छन् ।
महाशाखाका निर्देशक पाण्डेले भने आफुहरुले सक्दो काम गरिरहेको बताउदै त्यसको नतिजा तत्काल नदेखिने र केही दिनभित्रैमा संक्रमितको संख्या घट्ने दावी गरेका छन् । उनका अनुसार निषेधाज्ञा अगाडी भएका गतिविधिको कारण अहिले संक्रमित बढेको देखिएको बताउदै अब विस्तारै घट्दै जाने बताए । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित भएको जिल्ला काठमाडौं हो ।
शनिवारसम्म उपत्यकामा ३० जनाको मृ-त्यु भईसकेको छ । शनिवारमात्रै उपत्यकामा ६ जनाको मृ-त्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २० जना तथा ललितपुर र भक्तपुरमा ५÷५ जनाको मृ-त्यु भएको छ । उपत्यकामा भेन्टिलेटरमा अझै पनि १७ जना संक्रमित रहेका छन् ।
विज्ञहरुले संक्रमणको अवस्था कस्तो छ भनेर थाहा पाएपछि निषेधाज्ञा खुलाउनुपर्ने सूझाव दिएका छन् । धेरै क्षेत्रका विज्ञहरुसँग छलफल गरेर निषेधाज्ञा खुलाउँदा कहाँ कसरी खुलाउने भन्ने रणनीति बनाउनुपनुपर्ने जोड विज्ञहरुकै रहेको छ । अधिकांश जनस्वास्थ्य विज्ञहरु दीर्घकालीन लकडाउनले जनजीविका, अर्थतन्त्र, स्वास्थ्य सेवा, शिक्षालगायत सबैलाई ध्वस्त पार्ने र समाज नै कुँजो बनाउने बताउँछन् । त्यसैले लकडाउन गर्ने निर्णय लिँदा महामारीको प्रकृति कहाँ कस्तो छ भनेर बुझ्नुपर्ने उनीहरुको तर्क छ ।