काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा लकडाउनपछि निकै महत्वको विषय बनेको छ एम्बुलेन्स सेवा । कोभिडको त्रासले धेरै एम्बुलेन्स सेवा बन्द भएको समयमा पनि निडर भएर कर्म गरिरहेका एम्बुलेन्स चालक दीपकप्रसाद दाहाल आइतबार सम्मानित हुँदा भन्दै थिए, ‘कर्म गर फलको आशा नगर भनेर त्यसै भनेको होइन रहेछ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
११ चैत २०७६ बाट देशभरि पहिलो पटक लकडाउन भएपछि एम्बुलेन्स चालकहरू भूमिगत जस्तै भए । एम्बुलेम्स नभएर प्राण गुमाउनुपर्नेका कथाहरू समाचार बनेको देख्दा दाहालको मन थामिँदैनथ्यो । दाहाल भन्छन्, ‘डर सबैलाई हुन्छ तर बाँच्न मन पनि त सबैलाई हुन्छ । एम्बुलेन्स चलाएर मान्छेको सेवा गर्न पाएकामा खुसी छु ।’
गोदावरी नगरपालिका–१० चापागाउँका दाहालले पाटन अस्पतालको एम्बुलेन्स चलाउन थालेको पाँच वर्ष भयो । उनले यस अवधिमा सयौं बिरामी बोके । तर, अहिलेजस्तो डर र त्रासबीच काम गर्नुपरेको थिएन ।
कोभिड–१९ का कारण बिरामीले बेड नपाउने स्थिति छ । उपत्यकामा दिनानुदिन कोभिड संक्रमित बढिरहेका छन् । कहिलेकाहीँ २४ घण्टा नै उनको समय एम्बुलेन्समै बित्छ । ‘हामीले पनि डराएर बिरामी बोक्दैनौं भन्यौं भने त बिरामी घरमै मर्ने भए,’ उनी भन्छन् ।
पछिल्लो समय एम्बुलेन्स चालकलाई दुव्र्यवहार हुने र छिःछि दुरदुर गरिएको खबर सुन्दा उनलाई नरमाइलो लागेको छ ।
अहिले निषेधाज्ञाको समयमा लगभग उपत्यकामा रहेका सबै एम्बुलेन्स चले । ११ चैतदेखि भएको लकडाउनको समयमा सबै डराएका थिए । १०२ र पाटन अस्पतालको एम्बुलेन्स चलेको थियो । त्यतिबेला उनी यति व्यस्त भए कि २४ घण्टामा एक छाक खाएर बिरामी लिन दैडिहाल्थे ।
‘बिरामीले अस्पताल आउन खोज्दा पनि क्युमा राख्नुपर्ने स्थिति छ । यो महामारीको रोकथाम होस्,’ उनी भन्छन् । उनी बिरामी ल्याउँदा कामना गर्छन् । ‘संक्रमित छिटै निको होस् । संक्रमित निको भएर घर फर्कंदा उसको अनुहारमा देखिएको खुसी देखेर आफ्नो मन पनि प्रफुल्लित हुन्छ,’ उनी भन्छन् ।
उनी प्रायःजसो बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म खटिन्छन् । पाटन अस्पतालमा उनीसहित १० जना एम्बुलेन्स ड्राइभर छन् । ‘सबैको कथा एउटै छ । म त प्रतिनिधि पात्र मात्र हुँ,’ उनले भने ।