काठमाडौँ – हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउने भएका छन्। कोरोना कहरका बीच बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिक हिमाल आरोहणका लागि नेपाल आउन लागेका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा सरकारका प्रवक्ता युवराज खतिवडाले बहराइनका राजकुमार लगायतले चार्टर फ्लाइटबाट नेपाल आउन अनुमति पाएको जानकारी दिए।
खतिवडाका अनुसार १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउनेछ। उनीहरुले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने खतिवडाले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड गर्नेगरी नेपाल आउन अनुमति दिइएको खतिवडाको भनाई छ।
यस्तै सरकारले नेपालका शिक्षण संस्थामा पढ्न आउने विदेशी विद्यार्थीलाई नेपाल आउन दिने निर्णय पनि गरेको छ। खतिवडाले नेपाल पढ्न आउने त्यस्ता विद्यार्थीको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने बताए। त्यस्ता विद्यार्थीले स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गर्नुपर्नेछ।