चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने नेकपालाई बाबुरामले भने – ‘यस्ता पनि कम्युनिष्ट’

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन लागिएको विषय प्रति कडा टिप्पणी गरेका छन्।

निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले चुनाव हारेका व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने कुरालाई मूख्य एजेन्डा बनाउने पार्टी कम्युनिष्ट हुन नसक्ने भन्दै टिप्पणी गरेका हुन्।

पूरै देश तथा जनता कोरोना, बाढी-पहिरो, भोक-अभावसँग जुधिरहेका बेला सत्तारुढ पार्टी भने फरक एजेण्डामा अल्झिरहेको बाबुरामको बुझाई छ।

“प्रतिदिन हजार बढी कोरोना संक्रमित र दर्जनको मृ-त्यु! बाग्लुङ/कालीकोट/सिन्धुपाल्चोक लगायत जिल्लामा बाढीपहिरोबाट सयौंको मृ-त्यु!मल नपाएर किसानको हाहाकार ! श्रमिकहरू भोकभोकै सडकमा ! सत्ताधारी पार्टीको एजेण्डा – चुनाव हारेको कुनलाई राष्ट्रिय सभामा लैजाने !तर नाम कम्निष्ट रे ! जुन गोरूको सिंग छैन उसको नाम तिखे ?”,भट्टराईले ट्वीटरमा भनेका छन्।

वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानेनलैजाने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र लामो समय देखि विवाद रहँदै आएको थियो। प्रचण्ड सहित अन्य नेताहरु उनलाई राष्ट्रियसभामा लैजानुपर्ने मतमा थिए भने ओली उनलाई प्रतिनिधिसभा पठाउने मतमा थिए।

धेरै समयको विवाद र छलफल पश्चात राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय बिहिबार भइसकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराएका थिए ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान छ ।

यसअघि सिफारिशसहित नियुक्त भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र विमला पौडेल छन् । तीमध्ये डा खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७१३:४७

बामदेव बाहेकका यी ४ हरुवा नेता, जसलाई नेकपाले राष्ट्रियसभा सदस्य बनायो !