काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको औपचारिक रुपमै बिदा भएका छन्।
आइतबार चार वर्षे कार्यकाल सकिएका घिसिङको मंगलबार औपचारिक रुपमा बिदाइ गरिएको हो। मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरे।
प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिए भने बिदाई गर्नेक्रममा घिसिङले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गर्न सकेको प्रति धन्यवाद तथा बधाई दिए।
आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले माफियाको चङ्गुल नफसी काम गरी प्राधिकरणलाई घिसिङले नाफा तर्फ अगाडी बढाएको बताए।
साथै उनले पहिलो कार्यकालका रुपमा मात्रै बिदा गरिएको बताए। आउने केहि हप्ता मै पुनः स्वागत गर्ने पाइने विश्वास व्यक्त गरे। सरकारले घिसिङलाई दोस्रो कार्यकाल पनि काम गर्न दिने उनको विश्वास थियो।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको थियो। चार वर्ष अगाडी भदौ २९ गतेका दिन कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए।
दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बनेका घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफा तर्फ अगाडी बढाएका थिए।
सोमबार उनको पुनः नियुक्ति हुने अनुमान गरिएपछि प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाएपछि त्यसो हुन सकेन।